अत्तरिया : प्रतिनिधिसभा सदस्य तथा नागरिक उन्मुक्तिका सचेतक अरुणकुमार चौधरीलाई जेल चलान गरिएको छ । आगजनी गरेको अभियोगमा दोषी ठहर भएका चौधरीले जिल्ला अदालत कैलालीको फैसला अनुसार कारागारमा चलान गरिएको हो ।
बिहिबार साँझ चौधरी कैलाली जिल्ला प्रहरी कार्यालयको हिरासतमा बसेका हुन । शुक्रबार विहान १० बजे कैलाली जिल्ला अदालतमा उपस्थित गराई कैद पूर्जी लिएर धनगढी कारागारमा चलान गरिएको हो ।
फरार प्रतिवादीको सूचिमा रहेका चौधरीलाई बिहीबार बाँकेको कोहलपुरको बैजनाथपुरबाट पक्राउ गरिएको थियो । चौधरीलाई प्रहरीले पक्राउ गरेर नेपालगञ्जबाट जहाजमा पहिला काठमाडौ लगेको थियो । काठमाडौबाट उनलाई जहाजमै धनगढी लगेको हो ।
चौधरी नौ वर्षसम्म आगजनी मुद्दामा दोषी ठहर फरार रहेको प्रतिवादी रहेको खुलेको छ । गत मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दिएर उनले सांसद पद जितेका हुन् । यसअघि पनि उनले दुई पटक निर्वाचन लडिसकेका थिए । ती दुबै चुनाव उनले हारेका थिए ।
कैलाली जिल्ला अदालतमा २०६६ भदौ ३ गते आफ्नो लु २ त २११ नम्बरको ट्याक्टर जलाएको भन्दै २०६७ भदौ २ गते कैलाली जिल्ला अदालतमा महादेव बजगाईँले प्रतिनिधिसभा सदस्य रहेको अरुण चौधरीसहित पर्शराम चौधरी र वीर बहादुर चौधरीलाई विपक्षी बनाई मुद्दा दायर गरेका थिए । वि.सं २०७० बैशाख ९ गते कैलाली जिल्ला अदालतले सांसद अरुण कुमार चौधरी सहित परशुराम चौधरी र बिर बहादुर चौधरी गरी तीन जनालाई ६ महिना कैद सजाय सुनाएको थियो ।
त्यती बेला ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने समेत फैसला भएको थियो । अदालतले फैसला गरेपनि यस अघि तीन जनालाई पक्राउ गरेर क्षतिपूर्ति उपलब्ध गराउन प्रहरीले कुनै पहल गरेको थिएन । जिल्ला अदालत कैलालीले सांसद चौधरीलाई शुक्रबार देखि आगामी साउन १९ गतेसम्म कारागारमा राख्नेगरी कैद पूर्जी दिएर जेल पठाएको छ ।
उन्मुक्ति पार्टीद्वारा लम्कीमा प्रदर्शन
नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा सांसद अरुण चौधरीलाई रिहाको माग गर्दै कैलालीको लम्कीमा प्रदर्शन गरेको छ । शुक्रबार साँझ उक्त पार्टी सम्बद्ध नेता कार्यकर्ताले लम्की बजारमा मसाल जुलुस प्रदर्शन गरेको हो ।
¥लीमा सहभागीहरुले ‘रेशम चौधरी को रिहाई गर’, ’माननिय अरुण चौधरी रिहाई गर’, ’जनमतको कदर गर’ लगाएतका नारा लगाए । ¥यालीपछि आयोजित कोण सभालाई पार्टीका प्रबक्ता दामोदर पण्डित, प्रदेश सांसद रामेस्वर चौधरी लगायत नेताहरुले सम्बोधन गरेका थिए ।
चौधरीलाई रिहाइ नगरे थप आन्दोलन गर्ने उक्त पार्टीले चेतावनी समेत दिएको छ । यस अघि उक्त पार्टीले अरुण चौधरीलाई रिहा गर्न सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको थियो । शनिबार देखि विभिन्न ठाउँमा प्रदर्शनका कार्यक्रहरु सार्वजनिक गरेको छ ।