प्राज्ञिक विद्यार्थी परिषद्को ९ औं अधिवेशन धनगढीमा हुने

अत्तरिया :  प्राज्ञिक विद्यार्थी परिषद् नेपालको ९ औं राष्ट्रिय अधिवेशन धनगढीमा हुने भएको छ । परिषद्ले शनिबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै अधिवेशन आयोजनाबारे जानकारी दिएको हो ।
‘आत्मनिर्भर अर्थतन्त्र र भ्रष्ट्राचार नियन्त्रणका लागि परिषद्को नवौं राष्ट्रिय अधिवेशन’ भन्ने मुल नारासहित परिषद्ले आगामी चैत्र १८, १९ र २० गते अधिवेशन आयोजना गर्न लागेको हो । परिषद्ले पत्रकार सम्मेलनमार्फत राष्ट्रिय अधिवेशनको लोगो समेत सार्वजनिक गरेको छ । अधिवेशनमा देशभरका विद्यार्थी तथा शिक्षक कार्यकर्ता, अतिथि प्रतिनिधि तथा विशेष व्यक्तिहरू सहित १ हजार २ सय जना प्रतिनिधिहरूको सहभागिता रहने परिषद्का महासचिव छितराज न्यौपानेले बताए ।

उनका अनुसार अधिवेशनको एक सत्रमा राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कारद्वारा समाजमा प्रेरणादायी कार्य गर्ने युवालाई पुरस्कृत गरिनेछ । अधिवेशनमा राष्ट्रिय सुरक्षा, आत्मनिर्भर अर्थतन्त्र, पर्यटन, कृषि, उद्यमशीलता, शिक्षा, सेवा एवं संवेदना आदि विषयमा विशिष्ट विद्वानहरूको उपस्थितिमा समानान्तर सत्र सञ्चालन हुनेछन् । अधिवेशनले राष्ट्रिय अध्यक्ष एवं राष्ट्रिय महासचिवको निवाचन सहित केन्द्रीय कार्यकारिणी समितिको घोषणा हुनेछ । विद्यार्थी परिषद् २०५२ सालमा स्थापना भईअसल व्यक्ति निर्माणमार्फत् राष्ट्र पुनः निर्माणको अभियानमा नेपालका ७७ वटै जिल्लामा निरन्तर आफ्ना गतिविधिहरू सञ्चालनसंगै शतत रूपमा सक्रिय हुँदै आइरहेको छ ।

नेपालको विद्यार्थी आन्दोलनलाई सकारात्मक दिशा प्रदान गर्दै शिक्षाक्षेत्रलाई रचनात्मक एवं दलीय राजनीतिमुक्त गर्ने संकल्पका साथ परिषद् शिक्षाक्षेत्रमा सक्रिय छ । आफ्नो स्थापना कालदेखि नै विभिन्न सामाजिक तथा राष्ट्रिय विषयमा जनजागरण अभियान, सामाजिक गतिविधि, सेवाकार्य तथा शिक्षाका विविध विषयमा केन्द्रित रहँदै संगठन विस्तार तथा सुदृढीकरणका लागि निरन्तर सक्रिय छ ।

जसका लागि परिषद्ले प्रत्येक दुई वर्षमा विभिन्न विषयमा केन्द्रित रहँदै आफ्नो राष्ट्रिय अधिवेशन गर्दै आइरहेको छ । ८ औँ अधिवेशन विराटनगरमा सम्पन्न भएको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.