धनगढी : प्रतिनिधि सभा सदस्य अरुण कुमार चौधरीविरुद्ध जिल्ला अदालत कैलालीले गरेको फैसला बदरको मागसहित उच्च अदालत दिपायलमा पुनरावेदन दिइने भएको छ । कारागार चलान गरिएका सांसद चौधरी विरुद्ध जिल्ला अदालतले गरेको मुद्दा नै त्रुटिपूर्ण रहेको दाबीसहित उच्च अदालत दिपायलमा मुद्दा पुनरावेदनको तयारी गरिएको हो ।
सांसद चौधरीका एक कानुन व्यवसायका अनुसार जिल्ला अदालतले फैसला गर्नुभन्दा पहिले अदालतले म्याद पठाउँछ । तर म्याद पठाउँदाखेरि अरुण चौधरीका बुवा करिंगा चौधरीले बुझेको देखाइएको छ । त्यसमा करिंगा चौधरीले गर्ने हस्ताक्षर भन्दा नितान्त फरक रहेकाले म्याद नै किर्ते रहेको ती कानुन व्यवसायीको जिकिर छ ।
त्यस्तै, सांसद चौधरीका दाजु परशुराम चौधरीले आफ्नो बयानको क्रममा भाइ अरुण चौधरीले आफ्नो घरमा नबसी दोदोधरा गाविसमा बस्दै आएको देखाएको तर फैसलामा बलिया गाविसको वडा नं. ३ उल्लेख गरिएकोले म्याद तामेल कानुन सम्मत नभएकोले बदर हुनुपर्ने माग गर्दै मुद्दा पुनरावेदन गरिने बताइएको हो ।
फैसला नै त्रुटिपूर्ण रहेकोले उत्प्रेषण–परमादेशको आदेश जारी गरी पाउन उच्च अदालतमा रिट निवेदन आइतबार नै दर्ता गर्ने तयारी गरिएको बताइएको छ । उच्च अदालतले परमादेश जारी गरेको अवस्थामा सो मुद्दाको बहस नयाँ शिराबाट हुनेछ । आइतबार मुद्दा पुनरावेदन भएको अवस्थामा मुद्दाको बहस सोमबार नै हुन सक्ने कानुन व्यवसायीले जनाएका छन् । नागरिक उन्मुक्ति पार्टीबाट कैलाली निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित चौधरीलाई १० वर्षअगाडि थरुहट आन्दोलनताका ट्याक्टरमा आगजनी गरेको अभियोगमा जिल्ला अदालत कैलालीले ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध फैसला गरेको थियो ।
२०६६ भदौ ३ गते कैलालीको लम्की चुहा नगरपालिकाका पूर्व मेयर महादेव बजगाईंको लु. २ त. २११ नम्बरको ट्याक्टरमा आगजनी भएको थियो । सोही आगजनी घटनामा ट्याक्टर मालिक बजगाईंले १ वर्षपछि २०६७ भदौ २ कैलाली जिल्ला अदालतमा अरुण चौधरीसहित ३ जनाविरुद्ध मुद्दा दर्ता गरेका थिए । जिल्ला अदालत कैलालीले सोही मुद्दाको सुनुवाइ गर्दै २०७० वैशाख ९ गते चौधरीसहित परशुराम चौधरी र वीर बहादुर चौधरीलाई जनही ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको हो । प्रहरीले उनलाई बिहीबार बाँकेबाट पक्राउ गरेर कैलाली ल्याएको थियो । हाल उनलाई अदालतले कैलाली कारागार चलान गरेको छ ।