
काठमाडौँ : टर्कीमा सोमबार गएको शक्तिशाली भूकम्पका कारण मृत्यु भएकाको संख्या ३ हजार ८ सयभन्दा माथि पुगेको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार टर्की र सिरियामा गरी मृतकको संख्या ३८०० नाघेको हो। सोमबार बिहान टर्की केन्द्रबिन्दु भएर गएको ७।८ म्याग्निच्युडको भूकम्पले मध्यपूर्वका चार देश टर्की, सिरिया, लेबनान र इजरायल हल्लाएको थियो।
भूकम्पबाट भूकम्पको केन्द्रबिन्दु टर्की र नजिकैको सिरियाका क्षेत्रमा सबैभन्दा बढी विनाश भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। लेबनान र इजरायलमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो तर त्यहाँ अहिलेसम्म कुनै क्षतिको खबर छैन। भूकम्पले टर्कीमा मात्र हालसम्म २ हजार ३ सय ७९ जनाको ज्यान गएको छ भने ११ हजार जना घाइते भएको खबर छ। त्यहाँको सरकारले ७ दिने राष्ट्रिय शोकको घोषणा गरेको छ।
यस्तै भूकम्पबाट सिरियामा १ हजार ४ सय ४४ जनाको मृत्यु भएको छ भने २ हजारभन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
टर्की मिडियाका अनुसार ३ वटा ठूलो भूकम्प गएका थिए।
