
अत्तरिया : प्रदेश सरकार गठनमा सहयोग गरेको सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीसहितका कैदीबन्दी जेलबाट रिहा भएमा मात्रै सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ।
सो पार्टीको मङ्गलबार बसेको बैठकले टीकापुर घटनाका कैदीबन्दीलाई रिहा गरेपछि मात्रै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई विश्वासको मत दिने निर्णय गरेको हो।‘कैदीबन्दीको रिहाइपछि मात्रै मुख्यमन्त्रीलाई हाम्रो पार्टीको विश्वासको मत जान्छ’, नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य गङ्गा चौधरीले भने ।
उनले एक हातले रिहाइ भएकालाई बुझ्ने र अर्को हातले विश्वासको मत दिने निर्णय भएको बताए । ‘यदि, रिहाइ हुँदैन भने विश्वासको मत दिदैंनौं’, चौधरीले भने । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री रावलले बुधबार दिउँसो १ बजे विश्वासको मत लिदैँ छन । सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिने वा नदिनेबारे निर्णय गर्नका लागि नागरिक उन्मुक्ति पार्टीका सातै जना प्रदेश सभा सदस्य मङ्गलबार बिहानै काठमाडौं गएका थिए । सो पार्टीले जेलमा रहेको आफ्नो संरक्षक रेशम चौधरीसँग डिल्ली बजार कारागारमा छलफल गरेको थियो।
टीकापुर घटनाको मुद्दा फिर्ता हुनु पर्ने, रेशम चौधरी लगायतका कैदीबन्दी रिहा हुनुपर्ने र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नु नागरिक उन्मुक्ति पार्टीले पहिलेदेखि माग राख्दै आएको छ। संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत पु¥याएर नियुक्त भएका मुख्यमन्त्रीले एक महिनाभित्रै विश्वासको मत लिनु पर्ने प्रावधान छ।मुख्यमन्त्रीले माघ २६ गतेभित्रै प्रदेश सभाबाट विश्वासको मत लिइसक्नुपर्नेछ।
नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएमा मन्त्रिमण्डल विस्तार नहुँदै सरकार विघटन हुने अवस्था सृजना हुनेछ। नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), नागरिक उन्मुक्ति पार्टी र राप्रपा मिलेर प्रदेश सरकार गठन गरिएको थियो।मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने दिन रावललाई नागरिक उन्मुक्ति पार्टीले अन्तिम अवस्थामामात्रै साथ दिएको थियो। सुदूरपश्चिम प्रदेश सभामा नागरिक उन्मुक्ति निर्णायक पार्टी हो। यो पार्टीको समर्थनबिना मुख्यमन्त्रीलाई विश्वासको मत पुग्दैन। उहाँलाई २७ जनाको समर्थन आवश्यक छ। प्रदेश सभामा नेकपा (माओवादी केन्द्र) बाट ११, एमालेबाट १०, नागरिक उन्मुक्ति पार्टीबाट सात र राप्रपाबाट एक जना प्रदेश सभा सदस्यको उपस्थिति छ।
