अत्तरिया : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिँदैछन्। प्रदेशसभा सचिवालयका प्रवक्ता नरेन्द्रबहादुर कुँवरका अनुसारदिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको छ। मुख्यमन्त्री रावललाई विश्वासको मतको वातावरण नबनेपछि गत माघ ११ का लागि बोलाइएको बैठक सो दिन बैठक बस्नै सकेन।
त्यसपछि अनिश्चित बनेको बैठक करिब तीन सातापछि बुधबारका लागि बोलाइएको थियो। बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक पनि अन्तिम समयमा स्थगित भएको थियो। आज विश्वासको मत लिने अन्तिम म्याद छ। संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका रावलले आज विश्वासको मत नलिए स्वतः सरकार ढल्ने छ।
रावल पुस २७ मा नेकपा माओवादी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० को समर्थनमा उनी मुख्यमन्त्री नियुक्त भएका थिए। प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेकाले प्रदेश प्रमुख देवराज जोशीले संविधानको धारा १६८ (२) बमोजिम अन्य ३ दलहरूको समर्थनमा रावललाई मुख्यमन्त्री नियुक्त गरेका थिए।
समानुपातिकतर्फबाट प्रदेशसभा सदस्य बनेर नेकपा एमाले संसदीय दलको नेता चुनिएका रावललाई माओवादी केन्द्रका ११, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ सहित २९ सांसदको समर्थन छ। तर, सरकार गठनमा सघाएको नागरिक उन्मुक्तिले विश्वासको मत नदिने निर्णय गरेसँगै मुख्यमन्त्री रावल संकटमा परेका छन्। नागरिक उन्मुक्ति पार्टीले माग सम्बोधन नभएको भन्दै मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने निर्णय गरेको अध्यक्ष रञ्जिता श्रेष्ठले बताएकी छन्।
५३ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा सरकार गठनका लागि २७ सांसद आवश्यक पर्छन्। प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका १९, नेकपा एकीकृत समाजवादी ४ र एक जना स्वतन्त्र सांसदसहित सत्ता बाहिर २४ सांसद छन्।