यस्तो छ सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यन्त्रीको राजनीति यात्रा

अत्तरिया : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन् । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएर पद गुमाएपछि प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्री नियुक्त भएका हुन् ।

उनलाई प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीमा नियुक्त गरे । मुख्यमन्त्रीमा नियुक्त भएका शाहले भोलि पद तथा गोपनीयताको सपथग्रहण गर्ने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । प्रदेश सभा बैठकमा सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्य अनुपस्थित भएपछि मुख्यमन्त्री रावलले विश्वासको मत पाउन सकेनन् । जसले गर्दा नेकपा एमालेले नेतृत्व सहितको बर्तमान गठबन्धनको प्रदेश सरकारले पूर्णता नपाउँदै ३० दिनमा ढलेको छ ।

२०२८ साल फागुन १० गते बुवा मंगलबहादुर शाह र आमा चन्द्रदेवी शाहको कोखबाट अछाम रामारोशन गाउँपालिका-५ तडिगैरामा कमलबहादुर शाहको जन्म भएको हो । विद्यालय शिक्षा अछाम र कैलालीको टीकापुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसबाट पूरा गरेका शाहले महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जबाट स्नातक तहको शिक्षा हासिल गरेका हुन् । शाह २०४४ सालदेखि नेपाल विद्यार्थी संघ मार्फत राजनीतिमा लागेका हुन् ।

उनले २०४६ सालदेखि २०५२ सालसम्म नेपाल विद्यार्थी संघको क्याम्पस इकाई समिति सदस्य र पार्टीको महाधिवेशन प्रतिनिधि भएर काम गरे ।

उनले वि.सं. २०५४ सालदेखि २०६८ सालसम्म्म विभिन्न समयमा नेपाल तरुण दलको केन्द्रीय खेलकुद विभाग सदस्य, केन्द्रीय कोषाध्यक्ष, केन्द्रीय सचिव र केन्द्रीय उपाध्यक्ष पदमा रहेर काम गरे । उनी कांग्रेसको १०औं महाधिवेशनदेखि लगातार महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य हुँदै आएका छन् ।

२०६४ र २०६२\०६३ सालको जनआन्दोलमा पटक(पटक गरी ४ महिना जेल जीवन विताएका थिए । शाह २०७० सालमा भएको संविधान सभाको दोस्रो निर्वाचनमा कैलाली क्षेत्र नम्बर २ बाट उम्मेदार बनेका थिए ।

उनी पार्टीको १३औं र १४औं महाधिवेशनमा केन्द्रीय सदस्य पदको उम्मेदार समेत रहेका थिए । हाल लम्कीचुहा नगरपालिका १ लम्कीका स्थायी बासिन्दा शाह २०७९ साल मंसिरमा भएको प्रदेश निर्बाचनमा कैलाली क्षेत्र नम्बर २ ९ १ ० बाट निर्बाचित प्रदेश सांसद हुन् ।

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता बनेपछि अहिले प्रदेश सभाको ठूलो दलको हैसियतले मुख्यमन्त्री हुने सुनौलो अवसर प्राप्त गरे ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.