गौरीफन्टा रुटमा ३० वर्षपछि पुनः रेल सञ्चालन तयारी

अत्तरिया : भारत सरकारले रेलसेवा बन्द भएको ३० वर्षपछि कैलालीको धनगढीसँग जोडिएको भारतीय नाका गौरीफन्टासम्म रेलसेवा सञ्चालन गर्ने भएको छ ।

रेलसेवा बन्द भएको गौरीफन्टा रुटमा ३० वर्षपछि भारत सरकारले रेलसेवा सञ्चालन गर्ने सोचका साथ आवश्यक तयारी थालेको छ । त्यसका लागि रेलसेवाका अधिकारीले स्थलगत अध्ययन गरी बन्द स्टेसन र रुटको अवस्थाका जानकारी लिइसकेका छन् । १४ अप्रिल १९१४ मा दुधुवा–गौरीफन्टा जोड्ने १४ माइल लम्बाइ रेल लाइन निर्माण गरी भारत सरकारले सीमावर्ती बजार गौरीफन्टासम्म रेलसेवा सञ्चालनमा ल्याएको थियो । यो रुटमा घाटा भएको भन्दै भारत सरकाले सन् १९९३ मा रेलसेवा बन्द गरेको थियो ।

पूर्वोत्तर रेलवेका महाप्रबन्धक चन्द्रवीर रमणले चार दिनअघि मैलानी जक्सनको निरीक्षण गर्दै दुधुवा–गौरीफन्टा रेलसेवा सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी दिएका थिए । रमणकै निर्देशनमा आरएम आदित्य कुमारले गौरीफन्टाको स्थलगत अध्ययन गरेको बताइएको छ । आरएम आदित्य कुमारले रेलसेवा सञ्चालनका सम्बन्धमा स्थलगत अध्ययन प्रतिवेदन बुझाएपछि थप प्रक्रिया अघि बढ्ने बताइएको छ ।

लखनउ मण्डलको डीआरएमको टिमले समेत बन्द गौरीफन्टा स्टेसनको स्थलगत अवलोकन गरेको छ । पूर्वोत्तर रेलवेका महाप्रबन्धक चन्द्रवीर रमणले गौरीफन्टासम्म रेलसेवा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिँदै गौरीफन्टाबाट भारतको लखनउदेखि मुम्बईसम्मको टिकट पनि उपलब्ध हुने बताइएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.