अत्तरिया : कञ्चनपुरमा १५ लाख भारतीय रुपैयाँ र गरगहनासहित ३ जना पक्राउ परेका छन् । नेपाल भारत सीमा क्षेत्रमा पर्ने पुर्नवास नगरपालिका–४ को आनन्द बजार नजिकैको कार्गिल डाँडाबाट १५ लाख २८ हजार भारतीय रुपैयाँसहित सशस्त्र प्रहरीको गस्ती टोलीले उनीलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका–८ बस्ने २९ वर्षीय अम्मर भुल, ३९ वर्षीय खड्कसिंह भुल र डडेल्धुराको आलिताल गाउँपालिका–४ बस्ने २४ वर्षीय बिरेन्द्र सार्की रहेको सशस्त्र प्रहरी बल नम्बर ३५ गण कञ्चनपुरले जनाएको छ । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल फवार्ड बेस कार्गिल डाँडाको गस्ती टोलीले स्रोत नखुलेको भारतीय रुपैयाँ र गरगहनासहित भेटाएको गणका सशस्त्र प्रहरी उपरीक्षक(एसपी) प्रेमबहादुर रावलले जानकारी दिए ।
उनकाअनुसार उनीहरुको साथबाट ४ थान सिक्रि, ४ वटा औँठी, ३ वटा बाला, १० वटा टप, एउटा पाउजु, १ वटन, १ झुम्का, १ टाउकोमा लगाउने गहना, १ जन्तर र चार वटा मोबाइल समेत बरामद गरिएको छ । बरामद गरिएका नगद र गरगहनासहित उनीहरुलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको छ ।