अत्तरिया : कैलालीमा चितुवाको छालासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अछामको पञ्चदेवल बिनायक नगरपालिका–६ का ३६ वर्षीय तुलबहादुर बि।क र जुम्लाको तातोपानी गाउँपालिका– ४ राउतवाडा का ५० वर्षीय तुल बहादुर खत्री रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउदले उनीहरुलाई कुइनेबाट चिसापानीतर्फ से।५ प ८०३१ नम्बरको मोटरसाईकल चितुवाको छालासहित आइरहेको अवस्थामा पक्राउ गरिएको हो । उनका अनुसार प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय चिसापानीको टोलीले खत्रीसँग रहेको झोला चेक जाँच लम्बाई ७ फिट १० ईन्च र चौडाई ४ फिट ७ ईन्च भएको चितुवाको छाला बरामद गरेको हो ।
उनीहरुको साथबाट बन्यजन्तुको जस्तो देखिने बिभिन्न भागका गरेर २ किलो ९५० ग्राम हड्डी समेत बरामद गरिएको छ । दुवै जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।