काठमाण्डौं : क्रिकेटर सन्दीप लामिछानेले विदेश जान नपाउने भएका छन् । सर्वोच्च अदालतले उनलाई विदेश जान अनुमति नदिएको हो । सन्दीपले क्रिकेट खेल्न युएई जान पाउनु पर्ने मागसहित बिहीबार दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले उनलाई विदेश जान अनुमति दिन नमिल्ने आदेश दिएको हो । जबरजस्ती करणीको मुद्दामा यसअघि उच्च अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिए पनि विदेश जान भने प्रतिबन्ध लगाएको थियो । त्यसविरुद्ध सन्दीपले सर्वोच्चमा निवेदन गरेका थिए। तर उनको अपिल अनुसार आदेश नहुने सर्वोच्चको आदेश छ ।
सोमबारदेखि युएईको दुबईमा हुने त्रिकोणात्मक सिरिज नेपाली टिमले सन्दीपबिनै खेल्नेछ । त्यहाँ पपुवान्युगिनी र युएईसँग नेपालले ४ खेल खेल्नेछ । त्यसपछि कीर्तिपुरमा हुने ४ खेल भने सन्दीपले खेल्न पाउनेछन् । यसअघि नामिविया र स्कटल्याण्डविरुद्ध भएका ४ खेलमा सन्दीप पनि सहभागी थिए । उनी उक्त सिरिजका सर्वाधिक विकेट लिने खेलाडी पनि हुन् । सन्दीपमाथिको प्रतिबन्ध हटाइदिन क्यानले पनि अपिल गरेको थियो । नेपाली टिमका व्यवस्थापक विनोद दासले इजलासमै पुगेर सन्दीपलाई नेपाल फर्काउने जिम्मा आफ्नो हुने बताएका थिए ।