बैतडी : बैतडीमा राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी शंकास्पद अवस्थामा मृत भेटिएका छन् । दशरथचन्द नगरपालिका–१० खडेनीका जीवन बुडाल दोगडाकेदार गाउँपालिका–४ जाडाबगरस्थित चौलानी नदीमा मृत भेटिएका हुन ।
घटनास्थलको मुचुल्का तयार गरेर शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका डीएसपी प्रेम शाहीले बताए । मृतक बुडाल राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक पदमा कार्यरत थिए । बझाङ कार्यक्षेत्र रहेका उनी केही दिन अघि विदामा घर आएका थिए । शनिबार आफ्ना इष्टमित्र र साथीहरुसंग जाडाबगरमा पिकनिक मनाउन गएका उनी चौलानी नदीमा राति मृत भेटिएका हुन । बुडालसंग पिकनिक मनाउन अन्य ११ जना पनि गएका थिए । दशरथचन्द नगरपालिका–६ शेरासम्म गाडीमा गएका उनीहरु त्यहाँबाट हिँडेर जाडाबगड पुगेका थिए । बुडालको नदीमा डुबेर वा अन्य के कारणले मृत्यु भएको हो अझै एकिन भएको छैन ।
उनको मृत्यु शंकास्पद छ । उनी महाकाली तीरसँगै रहेको खडेनीका स्थानीय बासिन्दा हुन । उनी पौडी खेल्न सिपालु थिए । दिउँसो पिकनिक गएका बुडाल हराएको भन्दै उनका साथीहरुले राति करिब ९ बजेतिर मात्रै प्रहरीलाई खबर गरेका थिए ।