
अत्तरिया, २७ चैत : कैलालीको धनगढी उपमहानगरपालिका–८ मा निर्माण गरिएको सभागृह (सिटीहल) प्रयोग विहिन अवस्थामा छ । सिटि हल सञ्चालनको कार्यविधि नभएकाले प्रयोग विहीन अवस्थामा रहेको हो ।
भवन निर्माण भएको १० महिना पुग्दा सेमत गेटामा ताला लगाएर राखेको छ । भवन सञ्चालनमा कुनै पनि निकायको चासो गएको छैन । २८ करोडका लागतमा निर्माण गरिएको भवन बन्द हुँदा स्थानीयहरु पनि निरास छन् ।
सिटी हल सञ्चालमा आएपछि केहि आर्थिक उपार्जन गर्ने आसमा बसेका स्थानीयहरु पनि निरास भएका छन् । ‘सिटिहल निर्माण सुरु भएपछि गाउँमा चहलपहल बढ्ला व्यापार पनि चल्थ्यो कि भन्ने आशमा छु’, भवन बनेको देख्दा राम्रो लाग्छ, तर चल्ने छाँटकाँट छैन, यो भवन बनेर यसै थन्किने हो की ?’ स्थानीय कुलविर रानाले भने
व्यापारिक, राजनीतिक र अन्य दृष्टिकोणबाट पनि केन्द्रका रूपमा रहेको धनगढीमा बैठक, सभा, गोष्ठी, सेमिनार जस्ता ठूला कार्यक्रम गर्ने स्थानको आवश्यकता महसुस गरेर उक्त भवन निर्माण गरिएको थियो ।
धनगढी उपमहानगर वडा नम्बर ८ मा एक विघा क्षेत्रफलमा सिटि हलमा ९ सय जना अट्ने क्षमता रहेको अडिटोरियम हल, २ सय जना अट्ने क्षमताको सेमिनार हल, एक प्रदर्शनी कक्ष, एक अति विशिष्ट कक्ष, २ रियल्सन हल र अन्डरग्राउन्ड पार्किङ सहितको निर्माण भएको छ ।
स्थानीय समेत रहेका निवर्तमान वडा अध्यक्ष नारायण वरालले सिटिहल भवन निर्माण भईसक्दा पनि सञ्चालनमा नआउनु दुखद भएको बताए । ‘मेरो पालमा तत्कालित प्रधानमन्त्री शेरबहादुर देउवा ज्यूलाई बोलाए उद्घाटन गर्ने कार्यक्रम तय भएको हो’, उनले भने । ‘तर, केहि भवन निर्माण हुन बाँकी रहेको हुँदा स्थिगित भएको थियो ।’
अहिले निर्माण कम्पनीको एक वर्षे परीक्षणकाल चलिरहेको छ । सिटी हलको रेखदेख निर्माण कम्पनीले एक जना चौकीदार राखेर गरिरहेको छ । निर्माण भएको भवनमा भने ताला लगाएको छ । धनगढी उपमहानगरपालिका–८ का वडा अध्यक्ष जुगराम चौधरीले सिटी हल सञ्चालनका विषयमा उपमहानगरपालिकाले कुनै धारणा नबनाएको बताए । ‘हल सञ्चालनका लागि अझै दुई करोड बजेट लाग्छ, त्यसमाथि कर्मचारी चाहियो, उपमहानगरपालिकासँग बजेट छैन,’ उनले भने, ‘सञ्चालन गरेपछि फाइदा हुन्छ कि हुन्न भन्न सकिन्न । फाइदा नहुने भए किन चलाउनु ?’ उनका अनुसार उपमहानगरपालिकालाई सञ्चालनका विषयमा सम्बन्धित निकायबाट आधिकारिक निर्णय पनि आएको छैन ।
सिटी हल निर्माणको सम्झौता बिकेवाई एमके रोयल जेबी र सरकारबीच २०७६ माघ २ गते भएको थियो । सिटि हल निर्माणका लागि पटक–पटक समय थप गरिएकोमा गत असारमा काम सकिएको हो ।
स्थानीय तह वा प्रदेश सरकार कुन निकायलाई हस्तान्तरण गर्ने भन्ने निणर्य नभएको सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई धनगढीले जनाएको छ । इकाईका प्रमुख रमेश थिङले सञ्चालनको मापदण्ड तयार नभएको बताउनुभयो । ‘विभाग मापदण्ड बनाउँदैछ । धनगढीसहित देशका अन्य ठाउँमा पनि सिटि हल निर्माण भएका छन् । सबै सभाहल सञ्चालनका लागि मापदण्ड बनाउन थालिएको हो’, उनले भने ।
धनगढी उपमहानगरपालिकालाई सञ्चालनका लागि हस्तान्तरण गर्ने भनिएको भए पनि अहिले मापदण्ड नभएको भन्दै हस्तान्तरण नगरिएको उनले जानकारी दिए । ‘सञ्चालनका लागि कोलाई दिने भन्ने निर्णय भएको छैन । विभाग मापदण्ड बनाउँदैछ । मापदण्ड बनाएपछि हामी सञ्चालनका लागि हस्तान्तरण गर्छौँ । अहिले निर्माण कम्पनीले हेर्दैछ’, उनले भने । धनगढीमा सरकारले ठूलो रकम निर्माण गरेको सिटीहल प्रयोग विहीन भएपछि सरकारी तथा गैर सरकारी संस्थाहरु होटलहरुमा कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।
