Agni Offset Press

मेडिकल विश्वविद्यालयको माग गर्दै सुदूरपश्चिम प्रदेशसभा घेराउ

Aarati simant

अत्तरिया : कैलालीको गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय माग गर्दै सुदूरपश्चिम प्रदेश सभा घेराउ गरिएको छ ।
आइतबार सुदूरपश्चिममा आमहड्ताल गरेको विश्वविद्यालय स्थापनार्थ संघर्षले आज सोमबार प्रदेश सभालाई घेराउ गरेको हो । प्रदेश सभाको बैठक सोमबार ३ बजेका लागि बोलाइएको थियो । मुलगेटमै आन्दोलनकारीले घेराउ गर्दै धर्ना दिएपछि पछाडीको गेटबाट सांसदहरुले प्रवेश गरेका थिए ।
संघीय मन्त्रिपरिषद्ले गेटामा विश्वविद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो । नीति तथा कार्यक्रममा पनि गेटामा स्वास्थ्य विश्व विद्यालय सञ्चालन गर्ने भनिएको छ । तर,जेठ १५ गतेको संघीय सरकारको आगामी आर्थिक वर्ष २०८०\०८१ को बजेटमा गेटामा प्रतिष्ठान स्थापना गर्दै एक सय शय्याको अस्पताल सञ्चालन गर्ने उल्लेख भएपछि सुदूरपश्चिममा संघर्ष सुरु भएको हो । प्रदेश सरकारले भने गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन विषयमा एक प्रेस विज्ञप्ति जारी गर्दै प्रतिबद्ध जनाएको छ ।


गेटामा स्वास्थ्य विज्ञान विश्व विद्यालय सञ्चालन गर्न प्रतिवद्ध रहेको सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रेस विज्ञप्ति जारी गर्नै प्रतिद्धता जनाएका हुन । मुख्यमन्त्री शाहले गेटामा प्रदेशका आमनागरिकको चाहना र नेपाल सरकारको पूर्व निर्णय बमोजिम सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने गरी आवश्यक कानूनी र अन्य व्यवस्था मिलाइने प्रतिबद्धता जनाएका छन् । मुख्यमन्त्री शाहले सुविधा सम्पन्न अस्पतालसहितको स्वास्थ्य सेवा एवं चिकित्सा शिक्षाको केन्द्रको रूपमा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना र विकासको कार्यमा शीघ्रताका लागि नेपाल सरकारसँग विशेष अनुरोध गरेका छन् । उनले आम सुदूरपश्चिमवासी नागरिकको माग, चाहना र आवश्यकता पूरा गर्न गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको जनाएका छन् ।
‘गेटा मेडिकल कलेज सुदूरपश्चिम प्रदेश र सिङ्गो मुलुककै स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको केन्द्रको रूपमा विकास हुनुपर्छ भन्ने हामी सबैको चाहना हो’, मुख्यमन्त्री शाहले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रा माग र चाहना बमोजिम नै नेपाल सरकारले गेटा मेडिकल कलेजमा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने कानुनी प्रक्रिया अघि बढाएको पनि हामी सबैलाई स्मरण नै छ ।’

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.