सुदूरपश्चिमका साहित्यकार जोशीलाई दीनबन्धु गोयल प्रतिभा पुरस्कार

अत्तरिया : सुदूरपश्चिमका साहित्यकार तथा संस्कृतिविद् पद्मराज जोशी (प्रभात) लाई दीनबन्धु गोयल प्रतिभा पुरस्कारबाट सम्मान गरिने भएको छ। लामो समयदेखि धनगढीमा रहेर साहित्य साधनामा लागेका जोशीलाई ५० हजार राशिको दीनबन्धु गोयल प्रतिभा पुरस्कार प्रदान गरिने भएको हो।

प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरले असार २९ गते भानु जयन्तीका दिन उक्त पुरस्कारबाट सम्मान गर्ने निर्णय गरेको प्रतिष्ठानका सचिव कविराज न्यौपानेले बताए। २०३९ सालमा जनस्तरबाट स्थापित प्रतिष्ठानका अध्यक्ष दधिराज सुवेदीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले २०७९ सालका विभिन्न विधाका पुरस्कारहरूको घोषणा गरेको छ। प्रतिष्ठानले षडानन्द प्रतिभा पुरस्कार सुनसरीका कवि मान बज्राचार्यलाई प्रदान गर्ने भएको छ । यो पुरस्कारको राशि २० हजार छ।

यस्तै, २० हजार राशिको विराट लक्ष्मी प्रतिभा पुरस्कार झापाकी उपन्यासकार जानुका खतिवडालाई दिइने भएको छ। ५० हजार राशिको प्रतिभा पुरस्कार सिन्धुपाल्चोकका साहित्यकार नरेन्द्रराज पौडेललाई दिने निर्णय भएको प्रतिष्ठानले जनाएको छ। यसैगरी, धनकुटा मूल घर भएका काठमाडौं निवासी कवि तथा नाट्यकर्मी अशेष मल्ललाई ज्वालाप्रसाद प्रतिभा पुरस्कार दिइने भएको छ। यो पुरस्कारको राशि ५० हजार रुपैयाँ छ। प्रतिष्ठानका अनुसार लीलानाथ–विश्व मञ्जरी धर्म–संस्कृति प्रतिभा पुरस्कार सुनसरीको धरानस्थित पिण्डेश्वर संस्कृत माध्यमिक विद्यालयलाई दिइने भएको छ। यो पुरस्कारको राशि ५० हजार छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.