धनगढीः नेकपा एमालेका केन्द्रीय सचिव तथा कर्णाली प्रदेशका इन्चार्ज लेखराज भट्टले मेडिकल माफियाको चलखेल र सत्तामा बसेकाहरुले नचाहेका कारण गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने कार्यमा अवरोध सिर्जना भएको बताएका छन्। एमाले अध्यक्ष केपीशर्मा ओली प्रधामन्त्री भएका बेला गेटामा मेडिकल विश्वविद्यालय बनाउने प्रक्रिया अघि बढाएको भए पनि लगत्तै सरकार ढलेपछि प्रक्रिया नै रोकिएको उनको दाबी छ।
प्रेस चौतारी कैलालीले सोमबार अत्तरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव भट्टले एमालेकै अगुवाईमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग सर्वदलीय बैठक बसेर शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गराउन सफल भएको तर बजेटसम्म आइपुग्दा मन्त्रिपरिषद्को निर्णय नै उल्ट्याउने काम भएकाले खबरदारी गर्न आवश्यक रहेको बताए।
‘हामीले सर्वदलीय बैठक बसेर प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्दै क्याविनेटबाट विश्वविद्यालय निर्माण गर्ने निर्णय गरायौँ, उहाँले जनताकाबीचमा पनि त्यो कुरा भनेर जानुभयो तर नीति तथा कार्यक्रम हुँदै बजेटसम्म पुग्दा प्रतिष्ठानका रुपमा राखियो,’ भट्टले भने। भट्टले मन्त्रिपरिषद् बैठकले गरेको निर्णय कसैले काट्न नसक्ने भनेर भ्रम सिर्जना गरिएको बताउदै प्रतिनिधिसभाबाट क्याबिनेट भन्दा माथि रहेकाले बजेट पारित हुनासाथ सो निर्णय काटिने बताए।