बढ्दो कृषिजन्य बस्तुमा परनिर्भता : ४५ करोडको आलु भारतबाट आयात

अत्तरिया : कृषिप्रधान देश भनेर चिनिएको नेपालमा पछिल्लो समय कृषिजन्य बस्तुमा परनिर्भता बढ्दै गएको छ । कैलाली भन्सार कार्यालयबाट गत आर्थिक बर्ष २०७९\०८० मा ४५ करोड ५६ लाख २७ हजार मूल्यको आलुमात्रै भारतबाट आयात गरिएको छ । कैलाली भन्सार कार्यालय धनगढीबाट निर्यात भने न्युन रहेको छ ।
भन्सार कार्यालयले दिएको जानकारी अनुसार प्याज २१ करोड ७७ लाख १४ हजार, टमाटर १ करोड ५७ लाख ३१ हजार र लसुन ५ लाख ३८ हजार रुपैयाको आयात भएको छ । कैलाली भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले दिएको जानकारी अनुसार गत आर्थिक बर्षमा ३३ करोड ९३ लाख २९ हजारको बीउ बाहेक मकै, २३ करोड ५२ लाख ९७ हजारको चामल, २६ करोड ९२ लाख १६ हजारको तोरीको दाना, ८ करोड ५४ लाख ६३ हजारको दाल आयात भएको छ ।
त्यस्तै १० करोड ५० लाख ४६ हजारको गहुँ, १५ लाख ३५ हजारको मटर, १५ लाख ११ हजारको अन्य तरकारी आयात भएको कैलाली भन्सार कार्यालयको तथ्यांक छ । त्यस्तै फलफूल पनि ठूलो परिमाणमा कैलाली भन्सार हुँदै आयात भएको छ ।
फलफूलमा १४ करोड ९९ लाख ३४ हजारको अंगुर, ८ करोड ८६ लाख ३६ हजारको स्याउ, ७ करोड ३२ लाख ३८ हजार बोरा अनार, ४ करोड २० लाख १७ हजारको केरा, ३ करोड १६ लाख ४२ हजारको सुन्तला र १ करोड १९ लाख ७३ हजारको नरिवल आयात भएको सूचना अधिकारी खड्काले जानकारी दिए ।
त्यस्तै गत आवमा पेट्रोलियम पदार्थ बढी आयात भएको छ । ९ अर्ब ५२ करोड ५३ लाख ३८ हजारको डिजेल, २ अर्ब ६७ करोड १३ लाख ४७ हजारको पेट्रोल, एक अर्ब ६७ करोड २१ लाख ८८ हजारको खाना पकाउने ग्यास र ३६ करोड २५ लाख ३१ हजारको हवाई इन्धन आयात भएको कैलाली भन्सार कार्यायले जनाएको छ ।
भन्सार कार्यालयको राजस्व संकलन विगत दुई वर्ष यता निरन्तर घट्दै गएको छ । भन्सार कार्यालयले विगत दुई वर्ष देखि लक्ष्य अनुसारको राजस्व संकलन गर्न सकिरहेको छैन् । आव २०७७\७८मा लक्ष्यभन्दा १५ प्रतिशत बढी राजस्व संकलन गरेको कैलाली भन्सार कार्यालयले विगत दुई आर्थिक वर्षमा लक्ष्य अनुसारको राजस्व संकलन गर्न नसकेको हो । कसिलो मौद्रिक नीति, कर्जा प्रवाह नहुनु, बैंक ब्याजदर बढ्नु लगायतका कारण व्यापारीहरुको लगानी बढाउने, विस्तार गर्ने अवस्था नभएका कारण आयात घटेकाले राजस्व संकलनमा कमि आएको छ ।
यस्तै, आव ०७८\७९ मा ११ अर्व ८२ करोड ३९ लाख राजस्व संकलनको लक्ष्य रहेकोमा ९ अर्ब ५८ करोड २६ लाख मात्रै राजस्व संकलन गरेको थियो जुन लक्ष्यको ८१ दशमलव सून्य ४ प्रतिशत हो । गत आव २०७९\८० मा १२ अर्ब २० करोड ६६ लाख राजस्व संकलनको लक्ष्य रहेकोमा ८ अर्ब २९ करोड ६३ लाख राजस्व असुली भएको कैलाली भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले जानकारी दिए ।
जुन राजस्व संकलन लक्ष्यको ६७ दशमलव ४१ प्रतिशत हुन्छ । आव ०७९\८० मा पनि लक्ष्यअनुसारको राजस्व संकलन भएको छैन भने अघिल्लो वर्षभन्दा राजस्व समेत घटेको छ । आव ०७८\७९ मा ९ अर्ब ५८ करोड २६ लाख राजस्व संकलन भएकोमा आव २०७९\८० मा ८ अर्ब २९ करोड ६३ लाख मात्रै राजस्व असुली भएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.