गैरदलित मिलेर दलित परिवारको निर्माणाधिन घर भत्काए

बझाङ, १२ साउन : बझाङमा एक दलित परिवारको स्थानीयहरु मिलेर निर्माणाधिन अवस्थामा रहेको घर भत्काइ दिएका छन् । बझाङको वित्थडचिर गाउँपालिका–७ स्याल ढुंगामा पुड्के ओखेडाको निर्माणाधिन अवस्थामा रहेको घर स्थानीयहरु मिलेर भत्काएको पीडित पुड्के ओखेडाले बताए ।
साउन १० गते घर निर्माण स्थलमा आएर स्थानीयहरुले घरको ढोका, ढुंगा उखेलेर (निकालेर) फालेको ओखेडाको भनाई छ । ‘२५ बर्षदेखि त्यो जमिन हामीले भोकचलन गर्दै आएका छौँ । त्यो जमिनको लालपुर्जा पनि हामीसंग छ ।’ उनले भने ।
‘डुम, दलितहरु तिमीहरुले सार्वजनिक जग्गामा घर बनाउन पाउँदैनौं ‘भनेर गैरदलित गाउँलेहरु आएर घर भत्त्काउनुका साथै खेतमा लगाएको अन्नवाली पनि काटेर लगेको उनले बताए । उनी जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दर्ता गरेर ओखेडा सपरिवार न्यायका लागि सदरमुकाम चैनपुरमा छन् ।
घर बनाउनु अगाडि पनि जग्गाको विषयमा विवाद भएर न्यायिक समितिमा पुगेको भन्ने जानकारी आएको र स्थानीयहरुलाई जिल्लामा बोलाएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले बताए । वित्थडचिर गाउँपालिका– ७ का वडा सदस्य मुकुन्द जोशीले ऐलानी जमिन नजिकै ओखेडाको जमिन भएकाले उक्त विवाद उत्पन्न भएको र त्यसैको समाधानको लागि छलफल गर्न सदरमुकाम चैनपुरमा आएको बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.