आफ्नै नेता फस्नेडरले छानबिन समिति बनाउँदैनन : शाही

धनगढी : राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले सत्तारुढ दलकै नेता सुनकाण्डमा फस्ने भएपछि सरकारले उच्चस्तरिय छानबिन समिति बनाउन नचाहेको बताएका छन् । बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा शाहीले सत्ता गठबन्धनकै नेताहरुको नाम सुनकाण्डमा जोडिएका कारण उच्च स्तरिय छानबिन समिति गठन गर्न सरकार अनिच्छुक रहेको बताएका हुन् ।
शाहीले माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादूर महरा लगायतका नेताहरु सुनकाण्डमा जोडिएका कारण सरकार उच्चस्तरिय छानबिन गर्न नचाहिरहेको बताए । पटक–पटक भएका कल रेकर्ड समेत सिआईबीले फेला पारिसक्दासम्म महरा बाउ छोरासंग बयान लिनसम्म नदिइएको शाहीले बताए । प्रहरीको अनुसन्धान सुन तस्करी भन्दापनि भरिया सम्म मात्रै पुगेको बताउँदै शाहीले उच्च स्तरिय छानबिन नभए ठुला तस्कर पक्राउ नपर्ने दावी गरे । राष्ट्रिय प्रजातन्त्र पार्टी, एमाले लगायतका प्रतिपक्षी दलले ठुला तस्करसम्म अनुसन्धान गर्न उच्चस्तरिय छानबिन समितिको माग गर्दै संसद अवरुद्ध गरेको बताउँदै शाहीले समिति गठन नहुँदासम्म संसद चल्न नदिइने दावी गरे ।
सरकार जनताका दवावमा केही भ्रस्टाचारीहरुसम्म पुगे जस्तो मात्रै गरिरहेको शाहीले बताए । सुनकाण्ड मात्रै नभएर ललिता निवास प्रकरणमापनि सरकारले कसैको आडमा तर्साउने काम मात्रै गरिरहेको उनले बताए । ललिता निवास जग्गा प्रकरणमा माधवकुमार नेपाल र बाबुराम भट्टराई नेतृत्वको मन्त्रीमण्डलले निर्णय गरेपनि उहाँहरुमाथि अनुसन्धान नभएको भन्दै उनले आपत्ती जनाए । निर्णय कर्तालाई कार्वाही हुनुपर्ने ठाउँमा सरकार टिप्पणी उठाउने कर्मचारी र खरिदकर्तालाई पक्राउ गरिरहेको उनले बताए । यो प्रकारको अनुशन्धानले मुख्य दोषी चैनले बस्ने र खरिद गर्ने ब्यक्ती पक्राउ परिरहने उनको भनाई छ ।
पार्टीको सुदूरपश्चिम सह संयोजक समेत रहेका शाहीले अबको ६ महिनाभित्र सुदूरपश्चिममा पाटीले निकै गती लिने बताए । संगठन बिस्तार र युवाहरुलाई पाटीमा जोड्ने अभियान रहेको उनले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.