डोटीबाट बडिमालिका पठाइयो सरकारी डोल

डोटी : डोटी जिल्ला सदरमुकाम सिलगढीबाट बिहीबार बाजुरा जिल्लामा रहेको बडिमालिका मन्दिरका लागि सरकारी डोल पठाइएको छ । भाद्र चतुर्दशी तिथीका दिन लाग्ने बडिमालिका मेलाका लागि डोटी बाट डोल पठाईएको डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले बताए ।

जिल्ला प्रशासन कार्यालय डोटी र शैलेश्वरी मन्दिरमा पुजा आजा सहित दिपायलमा रहेको सशस्त्र प्रहरी बल हेड क्वाटर ३६ नम्बर गण, सिलगढीमा रहेको भैरव प्रसाद गण र जिल्ला प्रहरी कार्यालय डोटीको टोलीले प्रशासन कार्यालय र शैलेश्वरी मन्दिरमा उक्त डोललाई सलामी दिएपछि सरकारी कर्मचारी सहितको डोल बडिमालिका मन्दिरका लागि पठाईएको हो । राणा शासन कालदेखि तत्कालीन डोटी गौडा अर्थात् जिल्ला प्रशासन कार्यालय सिलगढीमा पूजा आजा गरी विधिवत रुपमा सरकारी कर्मचारीहरुले डोल लैजाने चलन रहे अनुसार सोही बिधी परम्परा अनुरुप बिहीबार डोल बाजुरा पठाइएको प्रजिअ अर्यालले बताए ।
सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा रहेको बडिमालिका क्षेत्र धार्मिक तथा प्राकृतिक सम्भावना रहेको क्षेत्र भएका कारण भाद्र चतुर्दशी तिथीका दिन उक्त मन्दिरमा भक्तजनको मेला लाग्ने गरेको शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष तथा पुजारी प्रेमशंकर भट्टले बताए । सिलगढीबाट डोलको यात्रा शुरु हुँदा देखि नै गाउँलेले बाटोमा पुजाको थाली राखेर तीर्थ यात्रीको यात्रा सफल होस् र बडिमालिकाले सबैलाई आशिर्वाद दिउन् भन्ने कामना सहित ठाउँ ठाउँमा पानीका घडा र फूलमालाले स्वागत गर्ने गर्दछन् ।

बडिमालिका जाने बाटोमा त्रिवेणीधाम पर्छ । तीनवटा नदीको संगम रहेको उक्त धाममा अधिकांश तीर्थयात्रीले आफ्ना स्वर्गीय बाबु आमाको श्राद्धसमेत गर्ने गरेको शैलेश्वरीका पुजारी भट्टले बताए । उनका अनुसार त्रिवेणी धामबाट कम्तीमा पनि ६ देखी ८ घण्टा हिँडेपछि बडिमालिका पुगिन्छ । वर्षमा धेरै समय हिउँ पर्ने र लामो समयसम्म नपग्लिने बडिमालिकामा वर्षेनी भाद्र चतुर्दशी तिथीको समयमा नेपाल र भारतका थुप्रै भक्तजन मेला भर्न आउने गर्छन् । पौराणिक कथाअनुसार महादेवकी पत्नी सतीदेवीका पिता दक्ष प्रजापतिले यज्ञ गर्ने समयमा महादेवलाई आमन्त्रण नगरी अपमान गरेपछि क्रुद्ध भएकी सतीदेवी यज्ञ कुण्डमा हाम फालेपछि उनको मृत शरीर बोकेर हिडेका महादेवको काँधबाट सतीदेवीको अङ्ग पतन भई बडिमालिका मन्दिर स्थापना भएको किंवदन्ती रहेको पाईन्छ ।

डोटी बाट प्रस्तान भएको सरकारी डोल बडिमालिका मन्दिरमा पुग्न दुई साता समय लाग्ने जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ । बडिमालिका मन्दिरका लागि अछाम, बाजुरा, बझाङ तथा डोटीबाट वर्षेनी डोल लैजाने चलन रहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.