Agni Offset Press

रानाथारु समुदायमा तीजको चहलपहल

Aarati simant

अत्तरिया : सुदूरपश्चिम प्रदेशको तराईवासी रानाथारु समुदायमा तीज पर्वको चहलपहल सुरु भएको छ । कैलाली र कञ्चनपुरमा बसोबास रहेको यो समुदाय भदौ २ गते तीज पर्व मनाउँदैछन् ।
राना थारुले अन्य समुदायको भन्दा पहिले तीज मनाउने गर्छन् । दसैं, दीपावली खासै नमनाउने यो समुदायका मानिसले तीज धुमधामसँग मनाउँछन् । तीज रानाथारु महिलाको पर्व हो । यो पर्वमा उनीहरु आफ्ना दाजुभाइ र भतिजको दीर्घायुको कामनाका लागि व्रत बस्ने गर्छन् ।
तीज आउन चार–पाँच दिन अगाडिबाट त्यसको चहलपहल र रमझम सुरु भएको धनगढी उपमहानगरपालिका –८ धनगढी गाउँका भलमन्सा भज्जी रानाले बताए । उनका अनुसार तीजको उद्घाटन भइसकेको छ । तीज उदघाटनपछि गाउँघरमा रमझम बढेको छ ।
‘तीज उद्घाटनपछि चार दिनसम्म महिला दिदीबिहीनीहरु सामनकी डोलामा रमाउँछन, भलमन्साले भने, यो हाम्रो समुदायको ठुलो पर्व हो । त्यसैले चार–पाँच दिन अगावैबाट चहलपहल हुनेगर्छ ।’ भदौ २ गते व्रत बस्ने र तीजको समापन गरिने जनाइएको छ ।
अन्य समुदायका महिलाले विशेष गरेर आफ्नो श्रीमानको दीर्घायुका लागि तीजको व्रत बस्ने गर्छन् । रानाथारु समुदायको तीज भने अरु समुदायको भन्दा फरक छ । आफूहरु आफ्ना दाजुभाइ, भतिजाका दीर्घ जीवनको लागि व्रत बस्नेगरेको स्थानीय रामरतोदेवी रानाले बताइन ।
उनका अनुसार व्रत बस्नुभन्दा पहिले तीन–चार दिनसम्म सावनकी डोला (पिङ) खेलेर रमाउने गरिन्छ । सो क्रममा मौलिक पहिरन लगाउने र मौलिक गीत गाउने गरेको उनले बताए ।
‘परम्परागत गीत गाउँदै सामूहिक रुपमा डोला झुल्ने गरेका छौं’ रानाले भने, अन्तिम दिन व्रत बसेर पूजाआजा गरी तीजको समापन गर्छौ ।’ तीजको दिन दिनभर निराहार व्रत बसेर अपरान्ह वा बेलुकातिर नदीमा गएर पूजा गर्ने चलन रहेको जनाइएको छ । त्यस क्रममा व्रतालु महिला सामनकी डोला बनाउन प्रयोग गरिएको डोरी (मुरिया) काटेर लग्ने गर्छन् । यसैगरी, झुरकी (कुसको गाँठो) बनाएर लग्ने चलन छ । विवाहित व्रतालुले सातवटा गाँठो र अविवाहितले पाँच वटा गाँठो बनाएर झुरकी लग्ने गरेको रामरतोको भनाइ छ । मुरिया र झुरकी दुवै नदीमा सेलाइन्छ । सो क्रममा व्रतालुहरुले झुरकी र मुरियालाई नदीको धारमा छोडेर ‘धारैधार टाढा जानू, हाम्रो दाजुभाइ, भतिजाको उमेर बढाउनु’ भन्ने गरेको उनले बताए ।
झुरकी नदीमा बगेर जति टाढा गए दाजुभाइ, भतिजाको आयु त्यति नै लामो हुने विश्वास रहेको रामरतोले बताए । तीजको पूजाआजापछि व्रतालुसहित घरपरिवार सबै मिलेर सिमही, पुरी, गुलगुला, पकौडा, पपरालगायतका मिठा परिकार खाने चलन छ । यसैगरी, दाजुभाइहरुले व्रतालुलाई आशीर्वादको साथै सकेको दक्षिणा पनि दिने गरेको किशोरी सपना रानाले बताए । महिला दिदीबहिनीले दाजुभाइ, भतिजाको दीर्घजीवनको लागि व्रत बस्ने गरेकाले दाजुभाइहरुले आफना दिदीबिहिनीलाई केही नभए पनि एक जोरा कपडासम्म अनिवार्य दिने चलन रहेको शिवराज रानाले बताए । यसैगरी, यो पर्वमा सिमही, पुरी र गुलगुला अनिवार्य परिकार रहेको उनको भनाइ छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.