बजेट अभावले महाकाली पुल निर्माणको काम प्रभावित

कञ्चनपुर : महेन्द्रनगरस्थित महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल निर्माणको काम बजेट अभावले प्रभावित भएको छ । मुलुककै आर्थिक समृद्धिसँग जोडिएको सो पुल निर्माणका लागि पर्याप्त बजेट प्राप्त नहुँदा निर्माण कार्य प्रभावित भएको हो ।

पुल निर्माण कम्पनीले गत आवकै रु २२ करोड रकम पाउन बाँकी छ । तर चालु आवमा पुल योजनाका लागि रु १८ करोड मात्रै बजेट आएको महाकाली पुल योजना कार्यालय महेन्द्रनगरका प्रमुख रामबहादुर गुरुङले जानकारी दिए ।  उनले बजेट थपका लागि विभाग र मन्त्रालयमा पेश गरेको बताए ।

पुल निर्माणको भौतिक प्रगति ९२ प्रतिशत भइसकेको छ । तर पुलसँगै बन्ने अन्य संरचनाका लागि पर्याप्त बजेट विनियोजिन नहुँदा निर्माण व्यवसायीले काम गर्न सक्ने अवस्था नरहेको जनाएको छ । महाकाली पुल निर्माण कम्पनी कुमार श्रेष्ठ सिएफइसी जेभीका इञ्जिनीयर किशोर पाण्डेयले काम गरेकै पैसा नै भुक्तानी नहुँदा थप काम गर्न समस्या भएको बताए ।

शनिबार मात्रै भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले महाकाली पुलको स्थलगत निरीक्षण गरेका थिए । पुलको अवलोकन गर्दै मन्त्री ज्वालाले आर्थिक अभावकै कारण पुल निमार्णको काम नरोकिने प्रतिद्धता जनाए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.