धनगढी : पढाईका साथसाथै अतिरिक्ति क्रियाकलाप संस्कृति धर्मका बारेमा विद्यार्थीहरुलाई जागुरुक गराउँदै आएको धनगढी उपमहानगरपालिका–१ शिवनगरमा रहेको चैतन्य पाठशालाले गौरा पर्व मनाएको छ । नयाँ पुस्तामा मौलिक पर्व हस्तान्तरण हुनुपर्छ भन्ने उदेश्यका साथ विद्यालयमा शिक्षक, अभिभावक र विद्यार्थीहरुलाई एक साथ राखेर सुदूरपश्चिमको एक प्रमुख गौरा पर्व मनाएको हो ।
विरुडा पञ्चमीबाट सुरु भएको गौरा आज बिहिबार अष्टमीको दिन गौरा महेश्वरको पूजा गरेर मनाइने कार्यक्रम गरेको हो । चैतन्य पाठशालाले शिक्षासँगै संस्कारको संस्कृतिको पहिचान र प्रवद्र्धन गर्ने उदेश्य राखेकाले यो वर्षबाट गौरा पर्व मनाउन थालिएको विद्यालयका सह–प्रधानाध्यापक कटकबहादुर सिंहले बताए ।
‘विद्यालयमा विद्यार्थीहरूलाई मौलिक चाडपर्व बारे जानकारी गराउन गौरा पर्व मनाउन थालेका हौँ । डेउडा र गौराको मैलिकतालाई जीवन्त राख्न र संस्कृतिलाई संरक्षण गर्न विद्यालयले गौरा मनाउन थालेको हो,’ सह–प्रधानाध्यापक सिंहले भने ।
सुदूरपश्चिमको मौलिक र सांस्कृतिक पर्व गौरा मनाउन र डेउडा खेल्न विद्यालयका अभिभावकहरूको उपस्थिति रहेको कार्यक्रमको प्रमुख अतिथि डेउडा प्रतिष्ठानका अध्यक्ष दलबहादुर बोगटी रहेका थिए ।

पाठशालाले आयोजना गरेको गौरा पर्व तथा डेउडा खेल, २०८० मा विद्यार्थी, अभिभावक र संस्कृति प्रेमीहरूको सहभागिता रहेको छ । कार्यक्रममा विद्यालयका निर्देशक हरि जोशी, प्रधानाध्यापक, शिक्षक–शिक्षिका र संस्कृति प्रेमी सर्वसाधारणको उपस्थिति रहेको थियो । कार्यक्रममा शिक्षक, अभिभावक र विद्यार्थीहरुले एकसाथ डेउडा तथा गौरी देवीको पुजा गरेका हुन् ।
