टीकापुर घट्नामा मारिएका बालक टेकबहादुरको सालिक अनावरण

अत्तरिया, ७ भदौ  : भूमि सुधार, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले २०७२ साल भदौ ७ गते टीकापुरमा भएको घटनामा ज्यान गुमाएका बालक टेकबहादुर साउदको सालिक अनावरण गरिएको छ ।
आठ वर्षअघि टीकापुरमा हिंसात्मक घटना भएको दिन पारी नागरिक उन्मुक्ति पार्टीका अध्यक्षसमेत रहेकी मन्त्री श्रेष्ठले टीकापुर नगरपालिका –१ ब्लक नम्बर २९ स्थित निर्माणाधीन प्लानेटोरियम परिसरमा स्वर्गीय बालकको सालिक अनावरण गरे ।
नेपालको संविधान जारी हुनुपूर्व २०७२ भदौ ७ गतेका दिन थरुहट प्रदेशको माग गर्दै भएको प्रदर्शन हिंसात्मक भएपछि वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित नौ जना प्रहरी र एक बालकको ज्यान गएको थियो । बालक टेकबहादुर साउदको सालिक नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले बनाएर सो पार्टीलाई हस्तान्तरण गरिएकोे हो ।
प्रतिनिधि सभाको सदस्य चुनिएर पनि पाँच वर्षसम्म संसद् छिर्न नपाएको भन्दै चौधरीले त्यही घटनाबाट जन्मेको नागरिक उन्मुक्ति पार्टी र टेकबहादुर साउदका परिवारबीचको सम्बन्ध भने सुमधुर रहेको बताए । ‘हत्याको आरोपित रेशमलाल र बालकका बुबा, बाजे एउटै मञ्चमा छु हत्यारालाई कसैले स्विकार्छ ?’ स्वर्गीय बालकका बुबा नेत्र साउदलाई मञ्चमै अङ्कमाल गर्दै चौधरीले भने, ‘रञ्जिता मन्त्री भएपछि साउद परिवारले मन्त्रालय पुगेरै आशीर्वाद दिए, टेकबहादुर मेरो पनि छोरा हो । सालिक मैले बनाउन पाउनुपर्छ भनेको थिएँ र बनाएँ ।’
चौधरीले स्वर्गीय बालकका बाजे जङ्गबहादुर साउदलाई सहिद प्रहरीका घरमा पुगेर अनुमति ल्याए दिवङ्गत प्रहरीको सालिक पनि आफैले बनाउने बताए । टीकापुरस्थित प्लानेटोरियममा टीकापुर घटनामा दिवङ्गत प्रहरी र वालकको सालिक राख्न स्थान छुट्टयाइएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.