कञ्चनपुर अख्तियारको कार्यालय अनियमितता विरुद्धका १७३ उजुरी दर्ता

धनगढी : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुर (महेन्द्रनगर) मा आर्थिक अनियमितता विरुद्धका एक सय ७३ उजुरी दर्ता भएका छन् ।
चालु आर्थिक वर्ष सुरु भएसँगै उजुरीकर्ताले विभिन्न माध्यमको प्रयोग गर्दै एकपछि अर्को उजुरी दर्ता हुनेक्रम बढेको छ । त्यस्तै भदौ महिनाको पहिलो सातामै थप २७ उजुरी दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको तथ्यांकले देखाएको छ ।
चालु आर्थिक वर्ष सुरु भएको डेढ महिना नपुग्दै यस्ता अनियमितताका दुई सय उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा दर्ता भएको पाइएको छ । अधिकांश उजुरी स्थानीय तहसँग सम्वन्धिन रहेको कार्यालयले जनाएको छ । लिखित, इमेल, भाइबर तथा टेलिफोन लगायतको माध्यमबाट आफ्नो पालिकामा भइरहेका अनियमितता विरुद्धका उजुरी दिनेको संख्या बढ्दै गएको कार्यालयले जनाएको छ ।
प्रदेशभित्र संघीय तथा प्रदेश मातहत सञ्चालित योजनाहरुमा समेत आर्थिक अनियमितता हुने गरेको विषयमा समेत कार्यालयमा उजुरी पर्ने गरेका छन् । यस्ता उजुरी सबैभन्दा बढी कैलालीबाट पर्ने गरेका छन् । अधिकारीहरुका अनुसार अख्तियारमा परेका कुल उजुरीमध्ये करिब ४० प्रतिशत उजुरी स्थानीय तहसँग सम्वन्धित हुने गरेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.