धनगढी : धनगढीमा एक युवक घरमै मृत अवस्थामा भेटिएका छन् । धनगढी उपमहानगरपालिका –७ बस्ने ३१ वर्षीय चन्द्रदेव भण्डारी (चन्दु) बिहीबार आफ्नै घरमा मृत भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रवक्ता इन्सपेक्टर सन्तोष बस्यालका अनुसार उनी झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
प्रहरी स्रोतका अनुसार पहिले लम्की दिदीको घरमा बस्दै आएका लागुऔषध प्रयोगकर्ता समेत रहेका उनलाई ३ पटक सुधारकेन्द्रमा राखिएको थियो । त्यसपछि सुधारकेन्द्रबाट निस्किएका उनी धनगढी आएका थिए । त्यसको लगत्तै उनलाई चिकित्सकले डिप्रेसनको समेत समस्या देखाएको प्रहरीले जनाएको छ ।
उनको त्यहीँ अवस्थाका कारण पत्नीसँगको पनि सम्बन्धमा खटपट आयो । यतिमात्र होईन आफूलाई छुट्कारा चाहिएको भन्दै उनकी पत्नीले डिभोर्स (सम्बन्ध–बिच्छेद) को लागि मुद्दा दर्ता गरेकी थिइन् । सोही अनुसार अहिले पनि सो मुद्दा चलिरहेको छ भने अदालतमा सो मुद्दाको फाइल थन्किएको छ । अब आफैं संसार छाडेर गएपछि सो मुद्दाको प्रक्रिया उनीसँगै टुङ्गिन्छ । यस्तै मृतक चन्दुको केही दिनमै बडिमालिका जाने योजना समेत रहेको प्रहरी स्रोतले जनाएको छ । स्रोत भन्छ,–‘भोलि पर्सि बडिमालिका जान्छु भन्दै परिवारमा कुरा गरेका रहेछन् । तर बडिमालिका जानै पाएनन् । हिजो राति मृत फेला परे ।’