शिक्षकलाई निर्घात कुटिएपछि चर्कियो आन्दोलन

कञ्चनपुर, ११ भदौ : कञ्चनपुरको भीमदत्त नगरपालिका–१० जिमुवास्थित सिद्धनाथ माध्यमिक विद्यालयका शिक्षकलाई कुटपिट गरिएको विरोधमा कञ्चनपुरमा शिक्षकको आन्दोलन चर्किंदै गएको छ ।
नेपाल शिक्षक महासंघ जिल्लास्तरीय आन्दोलन परिचालन समितिले सोमबारदेखि सामुदायिक तथा संस्थागत विद्यालय अनिश्चितकालीन रुपमा बन्दको घोषणा गरेका छन् । सिद्धनाथ माध्यमिक विद्यालयमा लेखा सहायक पदमा कार्यरत वीरेन्द्र प्रसाद जोशीलाई भएको निर्घात कुटपिटमा संलग्नलाई कारबाहीको माग गर्दै शिक्षकहरुले आइतबार भीमदत्त नगरका विद्यालय बन्द गराएका थिए ।
जिल्लास्तरीय आन्दोलन परिचालन समितिको आइतबार बसेको बैठकले आन्दोलनलाई जिल्लाव्यापी बनाउने निर्णय गरेको थियो भदौ ३ गते एक छात्राले शिक्षक जोशीले आफूलाई ‘ब्याड टच’ गरेको आरोप लगाएकी थिइन् । शिक्षक जोशीले भने छात्रालाई दुव्र्यवहार नगरेको दाबी गरेका छन् । प्रहरीले हतकडी लगाएर भ्यानसम्म ल्याउँदा विद्यालय परिसरमा एक समूहले जोशीलाई निर्घात कुटपिट गरेको थियो । सुरक्षा दिनुपर्ने प्रहरीको नियन्त्रणमा रहेका जोशी कुटिँदा प्रहरी मूकदर्शक बनेको आरोप छ ।
घाइते जोशीको अहिले धनगढीको निसर्ग अस्पतालमा उपचार भइरहेको छ । नेपाल शिक्षक महासंघ तीन बुँदे माग अघि सारेर आन्दोलनमा होमिएको संयोजक वीरेन्द्रसिंह भण्डारीले बताए ।
भदौ ३ गतेको घटनाको निष्पक्ष न्यायिक छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन, विद्यालयले किटानी जाहेरीका साथै फोटो र भिडिओमा देखिएका अराजक व्यक्तिलाई खोजी गरेर कानुनी दायरामा ल्याउनुपर्ने र सुरक्षामा खटिएका प्रहरी निरीक्षक सीताराम विष्टलगायत अन्य प्रहरी कर्मचारीलाई निलम्बन गरेर कारबाही हुनुपर्ने शिक्षकको माग छ । शिक्षकले घोषणा गरेको अनिश्चितकालीन विद्यालय बन्दको प्रभावले विद्यालयमा पठनपाठन ठप्प छ । सोमबारै महेन्द्रनगरमा शिक्षकहरुले ¥याली निकाल्ने तयारी गरेका छन् । माग सम्बोधनको दबाबका लागि ¥यालीका साथै प्रशासनमा धर्ना बस्ने कार्यक्रम छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.