बुढीतोला पहिरोले भिमदत्त राजमार्गको आवागमन अझै सहज हुन सकेन

अत्तरिया : कैलालीको बुढीतोलामा गत २२ साउनको राति पहिरो गएपछि भीमदत्त राजमार्ग नौ दिनसम्म अवरुद्ध भयो । पहिरोले बगाएको र भासिएको करिब चार सय मिटर सडकमा नयाँ ट्र्याक खोलेर एकतर्फी यातायात सञ्चालन गरिए पनि राजमार्गमा आवागमन अझै सहज हुन सकेको छैन । पहिरोग्रस्त ठाउँमा माथिबाट ढुंगा खस्ने र ट्र्याक धसिएर गाडी फस्ने भएकाले राजमार्गमा आवागमन दैनिकजसो प्रभावित भइरहेको छ ।

पहिरोले बगाएको ठाउँमा नयाँ खोलिएको ट्र्याक मर्मतका लागि मंगलबार पनि दिनभर राजमार्ग बन्द गरियो । बिहान १० बजेदेखि बेलुकी चार बजेसम्म राजमार्ग पूर्ण रूपमा बन्द गरेर ट्र्याक मर्मत गरिएको हो । पहिरोले सडक बगाएको र भासिएको ठाउँमा आवागमन सहज नभएपछि गत साता पनि मर्मतका लागि राजमार्ग दिनभर बन्द गरिएको थियो । मर्मतको कार्य भइरहेकाले दिनमा एक–डेढ घन्टासम्म राजमार्गमा आवागमन बन्द हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक नेत्रमणि गिरीले पहिरो गएको क्षेत्रमा आवतजावत सहज हुन नसकेको बताए ।

राजमार्गमा आवागमन सहज नहुँदा यात्रुले सास्ती खेप्नु परिरहेको छ । भार भएका सवारीसाधनलाई पार गर्न कठिन हुने गरेको छ । सुदूरपश्चिका सात पहाडी जिल्लाको मेरुदण्डका रूपमा रहेको यो राजमार्गमा दैनिक करिब चार सयवटा सवारीसाधनले ओहोरदोहोर गर्ने गरेको ट्राफिक प्रहरीको अनुमान छ । पहिरोले सय मिटर सडक पूर्ण रूपमा बगाउनुका साथै केही ठाउँमा भासिएको थियो । सडक डिभिजन कार्यालय कञ्चनपुरले पहिरो गएको ठाउँमा सडक निर्माण र मर्मतको काम गरिरहेको छ । उक्त कार्यालयका इन्जिनियर तारानाथ सिग्देलले यो वर्षामा दुईतर्फी यातायात सञ्चालनको सम्भावना नरहेको बताए ।

ढुंगा खस्ने र भासिने भएकाले दैनिक डेढ–दुई घन्टासम्म राजमार्ग अवरुद्ध भइरहेको उनले बताए । सडकको छेउतिर ग्याबिन जाली राख्ने र भित्तापट्टि खनेर दुईतर्फी यातायात चल्ने गरी मर्मतको काम भइरहेको सडक डिभिजनले जनाएको छ । सडक मर्मतका लागि पाँचवटा एक्साभेटर र लोडर खटिएका सिग्देलले जानकारी दिए । उनका अनुसार दुईवटा एक्साभेटर तथा एक–एकवटा लोडर र भाइबे्रटिङ लोडरले त्यहाँ काम गरिरहेका छन् । पहिरो गएको ठाउँमा सडक निर्माणका लागि अध्ययन गर्न सडक विभागको प्राविधिक टोली आउन लागेको इन्जिनियर सिग्देलले जानकारी दिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.