आज रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै

अत्तरिया : रक्षाबन्धन एवम् जनैपूर्णिमा आज मनाइँदैछ । जनैपूर्णिमा हिन्दु धर्मावलम्बीहरूले सबेरै घरमा लिपपोत गरी शुद्ध गरेपछि कुनै प्रकारको रोगव्याधि नलागी सधैं सुख र शान्ति होस् भन्ने कामनासहित ब्राह्मण पुरोहितद्वारा नाडीमा रक्षाबन्धन बाँधेर मनाउने गर्दछन् । यस पटक तिथि गडबढले गर्दा जनैपर्णिमा तथा रक्षाबन्धन कहिले बनाउने अन्योल रहेको थियो । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा रक्षाबन्धन, जनैपूर्णिमा र गाईजात्रा पर्व भदौ १४ गते बिहीबार आज पर्ने स्पष्ट गरेको हो । यस वर्ष तिथिको घटबढका कारण दुई दिनपर्ने पर्व एकै दिन परेको समितिले जनाएको छ । बिहीबार सूर्य उदयकालमा पूर्णिमा रहेका कारण यसैदिन जनैपूर्णिमा र रक्षाबन्धन मनाउन समितिले आग्रह गरेको हो ।
धर्मशास्त्रको परम्पराअनुसार उदयव्यापिनी (सूर्य उदय भएको) तिथिलाई आधार मान्नुपर्ने भन्दै समितिले बिहीबार नै मनाउनुपर्ने जनाएको हो । बुधबार ११ः२८ घडी अर्थात् १०ः१७ बजेपछि चतुर्दशी सकिएर पूर्णिमा तिथि लाग्ने पञ्चाङ्गमा उल्लेख छ । बिहीबार ५ः१८ घडी मात्रै पूर्णिमा रहेको बताइएको छ । यसैकारण काठमाडौं उपत्यकामै कतिपय समुदायले बुधबार नै रक्षाबन्धन गर्ने तयारी गरेका हुन । उदय पूर्णिमा १ घडीमात्र भए पनि त्यही दिन यो पर्व मनाइएको समितिले जनाएको छ ।
सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन तथा विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा आज पनि प्रचलित छ । आजकै दिन तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्छन् । सप्तऋषि कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्रलाई तर्पण दिने भएकाले यस दिनलाई ऋषि तर्पणी पनि भन्ने गरिन्छ ।
तराइमा आज दिदीबहिनीहरूले आफ्ना दाजुभाइलाई नाडीमा राखी बाँधीदिने चलन छ । जनैपूर्णिमाका दिन मास, भटमास, केराउ, मुग, चना, सिमी, गुराँस र बोडी गरी नौ थरिका गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाने चलन छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.