अत्तरिया : कैलालीमा छाडा पशु चौपायका कारण किसानलाई धान वाली जोगाउन सकस भएको छ । रातीको समयमा दर्चन बढी पशु चौपाय खेतमा पस्न थालेपछि किसानलाई धानवाली जोगाउन समस्या भएको हो । ‘पहिला–पहिला एक, दुई वटा चौपाया आउँथे खेतमा पसेपनि त्यती धेरै नोक्सानी हुँदैनथ्यो,’ धनगढी–३ का जनक चौधरीले भने, ‘तर अहिले १५–२० वटा सम्म चौपाया एक साथ खेतमा पस्ने गरेका छन्, त्यती धेरै चौपाय एक रात सम्म खेतमा पस्दा विधा जमिनमा लगाएको धानवाली स्वाहा पार्न थालेका छन् ।’
पछिल्लो एक साताको अवधीमा १० जना किसानको करिव ७ विघा जमिनमा लगाइएको धानवाली छाडा पशु चौपायले नष्ट गरेको उनले बताए । छाडा पशु चौपाय व्यवस्थि तगर्न आफहरुले पटक–पटक वडा कार्यालयसंग निवेदन गरेपनि सुनुवाई नभएको उनले बताए । किसान डम्बर चौधरीले धान बाली पसाउने बेलामा छाडा पशुले नोक्सानी पु¥यउँदा साह्रै नराम्रो लाग्नेगरेको उनले बताए । ‘छाडा पशुको उचित व्यवस्थापन नहुँदा सास्तीमात्र होइन, बाली जोगाउन समस्या भएको छ,’ उनले भने, ‘धानबाली पसाउन थालेको छ, यस्तो बेलामा पशुले किसानको बाली सखाप गरिरहेका छन् ।’
छाडा पशुले बाली नोक्सान गर्न थालेपछि रात–दिन बाली कुरेर बस्नु परिरहेको धनगढी–१२ का किसान वीरेन्द्र कुँवरले बताए । ‘केही दिनअघि पशुको बथान पसेर दुई कठ्ठा जमिनको धान खाएर सखाप पारे,’ उनले भने, ‘त्यसपछि बाली कुर्न थालेका छौँ, तारबार लगाएको बाली पनि पशु पसेर सखाप पार्न थाले ।’
उनका अनुसार छाडा पशुले आफ्नो मात्र नभई अन्य किसानको बालीमा समेत नोक्सानी गरेका छन् । पशुले बाली सखाप पार्ने डरले कतिपय किसानले खेती लगाउन छाडेका छन् । ‘मेरो छिमेकीले लगातार दुई वर्ष पशुका कारण बाली स्याहार्न नपाएकाले यस वर्ष धानबाली रोपेनन्,’ उनले भने, ‘यसपालि मास र अलहर खेती गरेका छन् । त्यसमा पनि पशुले क्षति पुर्याएपछि दिक्क छन् ।’
छाडा पशु यस क्षेत्रमा दीर्घकालीन समस्याका रूपमा स्थापित हुँदै आएको छ । व्यवस्थापनका लागि केही प्रयास भएका छन् । छाडा पशु व्यवस्थापनका लागि अस्थायी टहरा निर्माणदेखि पालनपोषणका लागि केही कार्य गरेका छन् । ‘सिजनल’रूपमा तत्कालीन समस्या समाधानको प्रयास भए पनि यसको दीर्घकालीन व्यवस्थापन नहुँदा छाडा पशुको समस्या उस्तै रहेर्को किसान गणेश उपाध्याय बताउँछन् । स्थानीय तहहरु भने छाडा पशु चौपाय व्यवस्थापन गर्न आफुहरु लागिपरेको बताउँछन् । ‘उप महानगरका–४ ठाउँमा गौसाला निर्माण गरेका छौं,’ धनगढी उप महानगरपालिकाकी उप प्रमुख कन्दकला रानाले भनिन्, ‘देखेका चौपाय त्यही राख्ने गरेका छौं ।’ धनगढी–१८ फूलवारीमा पनि गौशाला तयार भइसकेको भन्दै उनले केही सयम पछि त्यहाँपनि चौपाया राखिने बताइन् ।