कञ्चनपुर : भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपाली जनप्रतिनिधिसहितको एक टोलीलाई दार्चुलास्थित व्याँस गाउँपालिका–१ तिंकर जान रोकेको छ। भारतीय बाटो प्रयोग गरेर तिंकर गइरहेका जनप्रतिनिधिलाई बुधबार एसएसबीले रोकेर बीच बाटोबाटै फर्काएको हो। व्याँस गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामी, महाकाली नगरपालिकाका मेयर नरसिंह चैसिर र नेविसंघका विद्यार्थी नेता दीपक सिंह खातीलाई एसएसबीले छाङरु तिंकर जान नदिएको हो।
आज (बिहीबार) तिंकरमा बोर्डर आउट पोस्ट (बीओपी) उद्घाटन गर्ने कार्यक्रम छ। सोही कार्यक्रममा सहभागी हुन दार्चुलास्थित प्रशासनिक नेतृत्वसहितको टोलीमा रहेका ती तीन जनालाई एसएसबीले फिर्ता पठाएको हो। उनीहरुलाई एसएसबीले तिगरम पुलघाटनजिक रौगतीमा रोकेको थियो। ‘तपाईंहरुलाई अगाडि जाने अनुमति छैन’ भनेर जनप्रतिनिधिलाई आफ्नै पालिका जान नदिएको व्याँस गाउँपालिकाका प्रवक्ता उपेन्द्र धामीले बताए। सशस्त्रका एआईजी वंशीराज दाहाल, सीडीओ किरण जोशी र एसपी डम्बर बहादुर विष्टलगायतको सुरक्षाकर्मीको टोली भने छाङरु तिंकरतर्फ गएको छ।
व्याँस गाउँपालिका–१ स्थित भारतले अतिक्रमण गरेको कालापानी क्षेत्र नजिकका गाउँ छाङरु र तिंकर पुग्न नेपालतर्फ बाटो छैन। दुई÷तीन दिन हिँडेरै जोखिमपूर्ण यात्रा गर्नु पर्ने बाध्यता छ। भारततर्फ पक्की गाडी चल्ने बाटो भएकाले सहजै छाङरु तिंकर पुग्न सकिन्छ। त्यसैले छाङरु, तिंकर र दार्चुला सदरमुकाम आउजाउ गर्न स्थानीयले भारतीय बाटो प्रयोग गर्ने गरेका छन्। बारम्बार विभिन्न बहानामा भारतीय पक्षले आफ्नै भूमि जान नदिएर सीमामा बलबिचाइँ गर्ने गरेको छ।