त्रिनगर नाकाको प्लान्ट क्वारेन्टिनलाई पुनः सञ्चालनमा ल्याउन निर्देशन

काठमाण्डौ : कैलालीको धनगढी स्थित त्रिनगर नाकाको प्लान्ट क्वारेन्टिनलाई कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले तरकारीको विषादी परीक्षण गर्दै आएको उक्त क्वारेन्टिनलाई पुनः सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकपछि समितिका उपसचिव शिवदत्त बरालले समितिले त्रिनगर नाकाको प्लान्ट क्वारेन्टिनलाई सञ्चालनमा ल्याउनसम्बन्धित निकायलाई निर्देशन दिएको बताए ।
प्लान्ट क्वारेन्टिन बन्द भएपछि धनगढीका उद्योगी व्यवसायी चिन्तित बनेका थिए। क्यारेन्टिन बन्द हुँदा खाद्य र पशुपन्छी दाना उद्योग बन्द हुने अवस्थामा पुगेको भन्दै यसअघि उद्योगी व्यवसायीले सञ्चालनको माग गरेका थिए । तीन हप्तादेखि क्वारेन्टिन बन्द हुँदा खाद्यान्न, फलफूल र तरकारीको आयात–निर्यात समेत ठप्प छ ।
त्यस्तै नेपाल सरकारको कोदो खेतीको उत्पादन तथा प्रवद्र्धन गर्ने सन्दर्भमा के कस्ता कार्यक्रमहरु रहेका छन् सो सम्बन्धमा कृषि मन्त्रालयसँग विवरण माग गर्ने निर्णय गरेको छ ।
समितिले हालसम्म गरेका निर्देशन र निर्णयहरु कार्यान्वयनको अवस्थाको प्रगति विवरण सात दिन भित्रमा माग गर्ने, नेपालको पहाडी तथा तराईका क्षेत्रमा उत्पादन हुने गाँजा खेती बहुउपयोगी रहेकोले उत्पादन, प्रशोधन र बिक्री वितरण गर्ने कार्यलाई वैधानिक बनाउने सम्बन्धमा सम्बन्धित निकायसँग थप छलफल गर्ने र भूमि आयोगबाट सम्पादन हुने कार्यका सम्बन्धमा राष्ट्रिय भूमि आयोगका अध्यक्ष लगायतका पदाधिकारी र भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग छलफल गर्ने निर्णय गरेको छ ।
बरालले कार्बन व्यापार र जलवायु परिवर्तनको नीतिगत कानुन र संस्थागत तथा कार्यगत व्यवस्थाका सम्बन्धमा रहेका विषयहरु सम्बन्धित निकायसँग लिखित रुपमा माग गर्ने निर्णय गरेको बताए । बंगलादेशको कृषि क्षेत्रको अनुगमन गर्न समिति सभापति डा. आरजु राणाको नेतृत्वमा अनिशा नेपाली, अम्मरबहादुर थापा, विनीता कठायत, सूर्यकुमारी श्रेष्ठ, रुपा सोसी चौधरी र उपसचिव शिवदत्त बराल बंगलादेश जाने निर्णय भएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.