
धनगढी : समाजवादी मोर्चा नेपालको सुदूरपश्चिम प्रदेशस्तरीय भेला भोली (मंगलबार) धनगढीमा हुने भएको छ । सन्देश सभा नाम दिएको उक्त प्रदेशस्तरीय सभा भोली धनगढीको सौराई पार्टी प्यालेसको हलमा हुने भएको हो ।
सभाको तयारी पूरा भएको सोमबार धनगढीमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ । सभालाई चारदलका नेताहरुले सम्बोधन गर्ने जनाइएको छ । सन्देश सभालाई माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव विप्लव सी र जसपा नेता राजेन्द्र प्रसाद श्रेष्ठले सम्बोधन गर्ने नेकपा एकीकृत समाजवादीका प्रदेश अध्यक्ष हर्कबहादुर सिंहले जानकारी दिए ।
पत्रकार सम्मेलनमा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश इन्चार्ज गरिमा शाहले समाजवाद स्थापना गर्न, संविधानको कार्यान्वन गर्न लगायतका लक्ष्य लिएर गठित समाजवादी मोर्चाको सुदूरपश्चिम स्तरीय मोर्चा समेत घोषणा हुने बताइन् । उनले कार्यक्रममा सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका चार दलका बुद्धिजिवी, नेता तथा सभेच्छुकको सहभागिता रहने बताइन् । उनले भनिन –‘नौ वटै जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहने छ । विशेष त कैलाली र कञ्चनपुरबाट बढी सहभागिता रहने छ ।’
उनले समाजवादी लक्ष्यलाई आधार मानेर समाजवादी शक्तिको समाजवादी मोर्चा गठन भएको भन्दै यो उत्साह र खुशी जनता माझ पुर्याउन सन्देश सभा हुन लागेको बताइन ।
