धनगढी, २६ भदौ : धनगढीमा तेस्रो हार्डवेयर एक्सपो आयोजना हुनेभएको छ । हार्डवेयरको व्यापार प्रवर्धन र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीका उत्पादनको प्रचार–प्रसार गर्ने उद्देश्यका साथ हार्डवेयर एक्सपो आयोजना गर्न लागिएको आज पत्रकार सम्मेलन गरी जनाइएको छ ।
हार्डवेयर एक्सपो आगामी असोज १० देखि १४ गतेसम्म धनगढीको सौँराइ स्क्वायरमा आयोजना हुने आयोजक कैलाली हार्डवेयर सङ्घले जनाएको छ । हार्डवेयर एक्सपोमा स्वदेशी तथा विदेशी कम्पनीको उत्पादन बारेमा विस्तृत जानकारी दिने सङ्घका अध्यक्ष कुवेरबहादुर शाहीले बताए ।
उनका अनुसार प्रदर्शनीमा निर्माणका लागि चाहिने सरिया, सिमेन्ट, सेक्सन, जिआई तार, सेनेट्री टायल्स तथा होम डेकोरका लागि चाहिने सबै सामानहरू राखिनेछ । यी वस्तुहरूको गुणस्तर र मूल्यबारेमा प्राविधिक पक्ष हेर्ने इन्जिनियर, आर्किटेक्ट्स, इन्टेरियर डिजाइनरले अवलोकनकर्तालाई जानकारी दिइने जनाएको छ ।
निःशुल्क प्रवेश रहने एक्सपोमा सम्पूर्ण निर्माण सामग्री तथा हार्डवेयर कम्पनीका गरी ५० वटाभन्दा बढी स्टल रहने आयोजकले जनाएको छ । एक्सपोमा नयाँ प्रविधि, उपकरण, मेसिनको जानकारी दिइनेछ । यसैगरी, नयाँ निर्माण गर्ने योजना बनाइरहेकालाई आवश्यक परामर्श दिने, भूकम्प प्रतिरोधी निर्माणसम्बन्धी जानकारी दिने जनाएको छ ।
एक्सो अवधिभरी विभिन्न कम्पनीका हार्डवेयर सामग्री खरिद गर्दा ५ देखि ५० प्रतिशतसम्म छुट दिइने अध्यक्ष शाहीले बताउनुभयो । एक्सोमा बिटुबी सेमिनार गर्ने र दर्शक आकर्षित गर्नका लागि पुरस्कारको व्यवस्थासमेत गर्ने आयोजकले जनाएको छ । सङ्घले २०७५ बाट कैलालीमा हार्डवेयर एक्सपो आयोजना गर्दैआएको छ । एक्सपो आयोजनाले विभिन्न मल्टिनेशनल कम्पनीको सुदूरपश्चिम प्रदेशप्रतिको दृष्टिकोणमा परिवर्तन आएको सङ्घका निवर्तमान अध्यक्ष सुरेन्द्र राठीले बताए ।