Agni Offset Press

रैथानेबाली मार्सेमा कागेकिराको प्रकोप

Aarati simant

बाजुरा : बाजुराका विभिन्न ठाउँमा लगाइने मार्से (लट्टे) बालीमा किरा लाग्न थालेपछि किसान चिन्तित बनेका छन् । पाक्नै लागेको मार्सेबाली (लट्टे) मा कागे नामक किराले सखाप पारेको किसानहरुले बताएका छन् ।

मार्सेबालीमा यो किराले आक्रमण गरेको एक दुई दिनमै पुरै बारी खाएर नष्ट गर्ने गरेको खप्तड छेडेदह गाउँपालिका ३ धनाल्तका स्थानीय कृषक टिकबहादुर रावतले बताए । धनाल्तबासीको मुख्य बालीका रुपमा रहेको मार्से किराले सखाप पारेपछि भोकमरी लाग्ने चिन्ता किसानमा थपिएको छ ।

कागेकिरा लागेको दुई दिनमा कृषि ज्ञानकेन्द्र बाजुरामा औषधिका लागि पुगेको थिए । औषधि लिएर पुग्दा पूरै बारी नै सखाप पारेको अर्का किसान टेकबहादुर बुढाले बताए । दुई दिनमै सखाप होला भन्ने कल्पनासमेत नगरेको उनले बताए । जिल्ला कृषि ज्ञानकेन्द्रले मार्से बालीलाई रैथाने बालीको सूचिमा राखेको छ । मार्सेबाली कम मिहिनेत गरेर सुख्खा ठाउँमा पनि सहजै उत्पादन गरेर सजिलै भित्र्याउन सकिने भएकाले कृषकहरुले यो बाली लगाउने गरेको कृषकहरु बताउँछन्। मार्सेबाली तराइदेखि ३ हजार ५ सय मिटरको उचाइसम्मको भू–भागमा यसको खेती गरिन्छ ।

यो मध्यपहाडी क्षेत्रको हावापानीमा अत्यन्तै राम्रो फल्ने बाली हो । बाजुराका अधिकांश भेगमा लगाइने मार्सेबालीलाई अति वा अनावृष्टि भइ खाद्यान्न उत्पादन कम भएका वर्षहरुमा अनिकाल टार्ने मुख्य बालीका रुपमा पनि लिने गरिन्छ । उक्त बाली नै किराको संक्रमणबाट जिल्लाभर करिब १० प्रतिशत बढी क्षति भएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । यो बाली पाक्ने समयमै कागे नामक किरा सक्रिय भएर खान थाल्ने भएकाले यसको तत्काल नष्ट गर्न कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीनप्रसाद जैसीले अनुरोध गरेका छन् ।

मार्सेबालीमा उक्त किरा देखा पर्नासाथ सम्भव भएमा हातले टिपेर मार्ने वा नजिकैको कृषि विकास शाखा तथा कृषि ज्ञान केन्द्रमा सम्पर्क गरेर विषादी लिइ छर्न पनि उनले आग्रह गरेका छन् । बाजुरामा १० हेक्टर क्षेत्रफलमा मार्सेबालीको खेती गरिंदै आएको छ। त्यस्तै जिल्लामा करिब ८ मेट्रिक टन मार्सेबाली उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्र बाजुराको तथ्याकंकमा उल्लेख गरिएको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.