अत्तरिया : पश्चिम नेपालका थारू समुदायको प्रमुख सांस्कृतिक तथा सामाजिक पर्वको रुपमा रहेको अट्वारी पर्व यस वर्ष भदौ ३१ गते परेको छ । हरेक वर्ष कृष्ण जन्माष्टमीपछिको दोस्रो साताको आइतवार तथा कुशेऔंसी पछिको पहिलो आइतवारका दिन अट्वारी पर्व मनाइन्छ ।
थारु नागरिक सामाज कैलाली संयोजक तथा थारु अगुवा दिलबहादुर चौधरीले अट्वारी पर्व यहि भदौ ३१ गते परेको बताए । उनले कुशे औंसी पछिको पहिलो आइतवार र भाद्र शुक्ल पक्षको पहिलो आइतवार भदौ ३१ गते परेकोले उक्त दिन थारु समुदायको अट्वारी पर्व परेको बताए ।
अट्वारी मुलतः थारु समुदायका पुरुषले मनाउने पर्व हो। तर, थारु समुदायका महिला पनि अट्वारी व्रत बस्ने गर्दछन्। पश्चिम नेपालको कैलाली, कञ्चनपुर, बर्दिया र दाङ जिल्लाका थारु समुदायले अट्वारी पर्व मनाउने गरेका छन् । यसैबीच, थारु बाहुल क्षेत्र रहेको कैलारी गाउँपालिकाले अट्वारी पर्वमा दुई दिन स्थानीय विदा दिने निर्णय गरेको छ । गाउँपालिकाले भदौ ३१ गते र असोज १ गते स्थानीय बिदा दिने निर्णय गरेको हो ।