
बैतडी, २९ भदौ : बैतडीको तल्लोस्वराडका विद्यार्थी बेहोस हुने समस्या आएपछि पठनपाठन प्रभावित भएको छ । बैतडीको मेलौली नगरपालिका–७ स्थित मणिलेक माविमा अध्ययनरत छात्राहरू विद्यालयमै बेहोस हुन थालेपछि पठनपाठन प्रभावित भएको जनाएको छ ।
मणिलेक माविका प्रधानाध्यापक रमेशदत्त बागले विद्यालय आइसकेपछि छात्राहरू रुने, कराउने, काँप्ने र बेहोस हुने समस्या देखिएको बताए । गत हप्तादेखि छात्राहरूमा यो समस्या देखिएको र ‘दैनिक ४÷५ छात्रामा यो समस्या देखिने गरेको उनले बताए । कक्षा ५ देखि १० कक्षामुनिका छात्रामा यो लक्षण बढी देखिएको छ । १२ देखि १४ वर्ष उमेर समूहमा छात्रामा बढी समस्या रहेको उनको भनाई छ ।
विद्यार्थीमा दैनिक बेहोस हुने समस्या देखिन थालेपछि पठनपाठन प्रभावित भएको प्रअ बागको भनाइ छ । बिहान विद्यालय आएर एक र दुई घण्टी पढेपछि उनीहरूमा यो समस्या सुरु हुन्छ, उनले भने । एक छात्रालाई यो समस्या देखिएलगत्तै अरू छात्रामा पनि लगत्तै देखिन्छ । छात्राहरूमा देखिएको यो समस्याको बारेमा स्वास्थ्यकर्मीहरूलाई पनि सोधेको उनले बताए । हामीले स्वास्थ्यकर्मीलाई पनि समस्याको बारेमा जानकारी गराएको र स्वास्थ्यकर्मीकै सल्लाहअनुसार दुई घण्टी मात्रै पढाएर बाँकी समय मनोरञ्जनमा जोड दिएको जानकारी दिए ।
स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले छात्राहरूमा देखिएको यो समस्या मास हिस्टेरिया रहेको र यो सामान्य खाले बिरामीका लक्षण रहेको बताए । उनीहरूमा भावना उत्पन्न भएर एकबाट अर्कोमा हुने गर्दछ। मनोपरामर्शलाई जोड दिनुपर्छ, सान्त्वना दिने, मनोबल बढाउने कुरा र सांस्कृतिक कार्यक्रम गरेर मनोरञ्जन दिन खालका कार्यक्रम गर्नुपर्ने बताए । उक्त विद्यालयमा १ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् ।
