
धनगढीः धनगढी उपमहानगरले दाहसंस्कार खर्च उपलब्ध गराउने भएको छ । उपमहानगरले नागरिकको अन्त्येष्टिमा आर्थिक समस्या भएर टायरमा शव जलाउनुपर्ने अवस्था नआओस् भनेर दाहसंस्कार खर्च स्वरुप हतोहात ५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । कार्यपालिकाको आइतबार बसेको बैठकले दाहसंस्कारका लागि दाउरा खरिद गर्न मृतकको परिवारलाई पाँच हजार सहयोग गर्ने निर्णय गरेको नगर प्रमुख गोपाल हमालले बताए ।
सोमबार उपमहानगरको नवौं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा अन्तिम संस्कारका लागि शव वाहन र बिरामीलाई अस्पताल ल्याउन र लैजान एम्बुलेन्स सेवा निःशुल्क प्रदान गरिएकोे बताएका छन् । सेवाग्राहीले नगर प्रहरीबाटै शव वाहन र एम्बुलेन्स सेवा पाउन सक्ने व्यवस्था मिलाइएको नगर प्रमुख हमालले बताए ।
