Agni Offset Press

‘नेम्वाङको निधनले नेपाली राजनीतिमा अतुलनीय क्षति’

Aarati simant

अत्तरिया, २ असोज : नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सुवास नेम्वाङलाई संविधान सभाको नेतृत्वकर्ताका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । उनले नेम्वाङ बहुप्रतिभाका धनी भएकाले नेपाली राजनीतिक क्षेत्रमा अतुलनीय क्षति भएको बताए । नेकपा एमाले सुदूरपश्चिम प्रदेश समितिले मंगलबार धनगढीमा आयोजना गरेको ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रममा प्रमुख वक्ताका रूपमा बोल्दै पौडेलले यस्तो बताएका हुन ।
‘नेम्वाङ संविधान सभाका नेतृत्वकर्ता थिए नै, उहाँमा जस्तो सुकै असहज परिस्थितिको सामना सालिनता पूर्वक गर्ने सामर्थ थियो । फरक फरक सिद्धान्तका राजनीतिक दलहरूका बीचमा राष्ट्रिय सहमतिका लागि तयार पार्ने प्रतिभा उहाँमा थियो’, पौडेलले भने ।
उनले नेम्वाङसँगका अन्तरंग कुराहरू उल्लेख गर्दै उनको निधनले एमालेभित्र मात्रै होइन देशले नै कुशल नेतृत्व गुमाएको जिकिर गरे । श्रद्धाञ्जली सभामा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहको पनि सहभागिता थियो । ‘नेम्वाङले सभामुख हुँदा राजनीतिक पक्षपात कहिले पनि देखाउनु भएन । उहाँका कर्मले अहिले नेम्वाङ जनजनको मनमा बस्नु भएको छ’, मुख्यमन्त्री शाहले भने ।
नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माले भावुक हुँदै भने, ‘मलाई उहाँको तस्बिर हेर्दा कतै ‘माननीय सदस्यहरू’ भनिहाल्नु हुन्छ की जस्तै भइरहेको छ । उहाँको तस्बिर हेर्दा, कतै बोलि हाल्नु पो हुन्छ की भन्ने लागिरहेको छ । तर त्यो सत्य हो, उहाँले भौतिक शरीर छोडेर जानुभयो, तर उहाँ हामी माझमै हुनुहुन्छ ।’
कार्यक्रममा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्टले नेम्वाङ जस्तो सालिन सभामुख अब कहिल्यै नपाइने बताए । ‘उहाँ संविधान सभाको नेतृत्वकर्ता मात्रै होइन, एक सालिन र सभ्य राजनीतिकर्मी हो । उहाँको मनमा कहिल्यै कसैप्रति रिसराग देखिएन, त्यसैले देशले नेम्वाङको कमी कालान्तरसम्म महसुस गरिरहने छ ।’
नेपाली कांग्रेसका कार्यवाहक प्रदेश अध्यक्ष लोकराज अवस्थी, पूर्व संविधानसभा सदस्यहरूकातर्फबाट लीला भण्डारी, जनर्गीय संगठनका तर्फबाट युवा संघका अध्यक्ष क्षितिज थेवे, स्थानीय तहका जनप्रतिनिधिहरूका तर्फबाट धनगढी उपमहानगरपालिकाकी उपमेयर कन्दकला राना लगायतले ‘सुवास र संविधान विषयमा चर्चा गरेका थिए । नेकपा एमालेका प्रदेश अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा श्रद्धाञ्जलीसभा तथा प्रवचन कार्यक्रम सम्पन्न भएको थियो ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.