
बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिकाले शिक्षक आन्दोलनका कारण विद्यालय नै बन्द नगर्न आग्रह गरेको छ । आज (बिहीवार) एक विज्ञप्ति जारी गर्दै शिक्षकहरूको आन्दोलन प्रति ऐक्यबद्धता रहेको जनाउदै विद्यालय नै बन्द नगर्न आग्रह गरेको हो ।
संविधान प्रदत्त मौलिक हकको कार्यान्वयनमा प्रतिकुल प्रभाव पर्ने र विद्यालय शान्तिक्षेत्र राष्ट्रिय ढाँचा तथा कार्यान्वयन निर्देशिका २०६८ मा भएको व्यवस्थाको विपरित हुनेगरि कुनै पनि बन्द, हडताल र आन्दोलनको कार्यक्रम गर्न नमिल्ने कानूनी प्रावधान रहेको जानकारी गराउँदै गाउँपालिकाले शुक्रबारदेखि नियमित पठनपाठन गराउन अनुरोध गरिएको हो ।
शिक्षकहरूले उठाएका मागहरूमा समर्थन रहेको जनाउदै गाउँपालिकाले विद्यालय नै बन्द गरि गरिने आन्दोलनले विद्यार्थीको नियमित पठनपाठनमा बाधा पर्ने र आफ्ना मागहरू शान्तीपूर्ण रुपमा कानून बमोजिम सम्बन्धित पक्षसँग राख्न सकिने भएकाले यथाशीघ्र रुपमा शुक्रबारदेखि विद्यालय सुचारु गर्न भनिएको हो ।
