धनगढी : सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीको स्वकीय सचिव हुँ भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका मन्त्रीको निजी सचिव हुँ भनि ठगी गर्ने कालिकोट शुभकालिका गाँउपालिका–८ मुग्राहका २९ वर्षीय अम्मरराज सेजुवाललाई कैलाली प्रहरीले नेपालगंजबाट पक्राउ गरेको हो ।
भौतिक पूर्वाधार विकास मन्त्रीको पीए हुँ भनेर पैसा मागेको अडियो सुदूरपश्चिम भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवालाई प्राप्त भएपछि मन्त्री देउवाको पहलमा उनी पक्राउ परेका हुन् । मन्त्री देउवाको सचिवालयबाटै प्रहरीमा उजुरी दर्ता गराइ ठगि गर्ने अम्मरलाई तत्काल पक्राउ गर्न प्रहरीलाई दबाब दिइएको थियो ।
मन्त्री देउवाको एक्सनपछि प्रहरीले ठगी गर्ने अमरलाई चाँडो पक्राउ गर्न सफल भएको छ । अम्मरले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र भौतिक मन्त्रालयका मन्त्रीको निजी सचिव हुँ भनि प्रदेशका विभिन्न जिल्लाका कृषि कार्यालयमा काम गर्ने कर्मचारीलाई फोन गरी पैसा माग्ने गरेका थिए । जिल्ला अदालतबाट म्याद थपको अनुमति लिइ अनुसन्धान जारी रहेकोले अम्मरराजले अन्य व्यक्तिहरुलाई समेत ठगी गरेको भए आफूसँग भएको आधार प्रमाणसहित जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी दरखास्त पेश गर्न जिल्ला प्रहरी कार्यालय कैलालीले आग्रह गरेको छ ।
सेजुवालले डोटी र डडेल्धुरका विभिन्न व्यक्ति पहिचान गरेर म केही घण्टामा पुग्दै छु रकम तयार गर्नू भनेर फोनबाटै भन्ने गरेका थिए । त्यसपछि रकम दिन सहमत भए इसेवाबाट पैसा माग्ने गरेका थिए । सेजुवालले कम्तिमा दुई हजारदेखि बढीमा तीस हजारसम्म पठाउनू भनेर फोन गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । अहिले उनका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी देवेन्द्र पालले बताए ।