अख्तियारद्वारा सुदूरपश्चिम प्रदेश सभाको छड्के जाँच

अत्तरिया, १० असोज : सुदूरपश्चिम प्रदेश सभामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले स्थलगत नापजाँच गरेको छ । प्रदेश सभाबाट काम नसकी भुक्तानी दिएको भन्नेबारे उजुरी परेपछि आयोगले जाँच गरेको हो । आयोगको कञ्चनपुर कार्यालयको टोलीले सोमबार स्थलगत नापजाँच (छ्ड्के अनुगमन) गरेको थियो ।
सभाको मूल गेट र संसदीय समितिको भवन निर्माणको विषयमा परेको उजुरीका आधारमा स्थलगत रूपमा नापजाँच गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरका सूचना अधिकारी वसन्तबहादुर शाहीले जानकारी दिए ।
निर्माण कार्यको विषयमा परेका उजुरीमा स्थलगत रूपमा प्राविधिक नापजाँच गर्नुपर्ने व्यवस्था छ, सोही अनुसार यो विषयमा पनि सम्बन्धित क्षेत्रका जनप्रतिनिधि रहोवरमा उजुरी अनुसार नाप जाँच भएको होु, उनले भने । सुदूरपश्चिम प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले अख्तियारमा हिनामिना भयो भन्ने उजुरी परे पनि काम गलत नभएको दाबी गरे । उनले इस्टमेटको आधारमा भएको काम अनुसार भुक्तानी भएको बताए ।
प्रदेश सभा समितिका भवन निर्माण भइसकेका छन्, कार्यालयको मूल गेटको काम १० लाखको इष्टिमेट अनुसार पूरा भएर मात्र भुक्तानी गरिएको हो, गेटको इष्टीमेट बाहेकको गजुर राख्ने, सशस्त्रको प्रहरी बस्ने पोष्टको काम अहिले भइरहेको हो, त्यो कामको भुक्तानी भएको छैन, बाहिर जस्तो हल्ला छ त्यस्तो काम भएको छैन, उनले भने । तर, उजुरीमा भने प्रदेश सभामा निर्माण भइरेहको गेट र संसदीय दलको भवनहरूको काम नसकी भुक्तानी दिइएको उल्लेख छ । अख्तियारले यसबारे थप अनुसन्धान गरिरहेको जनाएको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.