अत्तरिया : कैलालीको वसन्ता वन क्षेत्रमा एक पोथी पाटे बाघ देखापरेको छ । भाले बाघबाट बच्चा (डमरु) जोगाउन पोथी बाघ उक्त क्षेत्रमा आएको जनाएको छ । हालसालै सुत्केरी भएकी बघिनी एक हप्ताअघि उक्त क्षेत्रमा प्रवेश गरेको स्थानीय संरक्षणकर्मी घनश्याम पौडेलले बताए ।
पछिल्लोपटक सुर्खेतबाट आएका सिकारीले सोही क्षेत्रमा रहेको एक पाटे बाघलाई मारेको हुँदा यसपटक आएकी बघिनीको लोकेसन बताइएको छैन । साथै बघिनीसँग भएका डमरुको संख्यासमेत खुलाइएको छैन ।
भारतको जंगलमा डमरु जन्माएर हुर्काउन बघिनी त्यहाँ आइपुगेको हुनसक्ने डभिजन वन कार्यालय कैलालीले जनाएको छ । बाघ पहिलोपटक सुत्केरी भएकाले उसले बच्चा स्याहार्ने तरिका सिकेको छैन ।