
धनगढी : कोजाग्रत पूर्णिमाको अवसर पारेर नेपाली काँग्रेस कैलालीले धनगढीमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।
कांग्रेसले बडादसैँ, तिहार, नेपाल संवत् र छठलगायतका पर्वका अवसरमा कोजाग्रत पूर्णिमाको दिन चियापान आयोजना गरेको हो । चियापान कार्यक्रममा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी लगायत विभिन्न राजनीतिक दलका नेताहरुलाई पार्टी सभापति नारायण दत्त भट्टले स्वागत गरे । अन्य दलका नेतासंगै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह पनि चियापान कार्यक्रममा सहभागि भएका थिए ।
कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य, प्रदेश समितिका सभापति तथा पदाधिकारी, जिल्ला कार्य समितिका पदाधिकारी तथा सदस्य, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, कैलालीबाट निर्वाचित संघ, प्रदेश तथा स्थानिय तह र वडाका जनप्रतिनिधि, क्षेत्रिय पदाधिकारी तथा सदस्य, प्रदेश सभा क्षेत्र कार्य समिति पदाधिकारी तथा सदस्य, पालिका र वडा कार्य समितिका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।
यसका साथै पार्टीका भातृ तथा शुभेच्छुक संस्था कार्य समिति पदाधिकारी तथा सदस्य, नेपाली काँग्रेसमा आस्थावान व्यक्ति र सञ्चारकर्मीहरु पनि चियापान कार्यक्रममा सहभागि थिए । बिपी वि.सं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि कांग्रेसले वि.सं २०३४ देखि चियापान सुरु गरेको हो ।
वि.सं २०३८ सम्म बिपीले यसलाई निरन्तरता दिएका थिए । त्यसपछि कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला हुँदै अहिले कांग्रेस सभापति शेरबहादुर देउवाले चियापान कार्यक्रमलाई निरन्तरता दिएका हुन् । कांग्रेसले बडादसैँको अवसर पारेर हरेक वर्ष चियापान कार्यक्रम आयोजना गर्दै आएको छ ।
