जोशीपुर गाउँपालिका अध्यक्ष ‘पिउँदिन भन्दाभन्दै पिलायो साथीले‘ डान्स भिडियो भाइरल

अत्तरिया : कैलालीमा एक गाउँपालिकाका अध्यक्षको डान्स सामाजिक सञ्जालमा भाइरल भएको छ। कैलालीको जोशीपुर गाउँपालिका अध्यक्ष चित्रबहादुर थारुले नाचेको भिडियो सामाजिक सञ्जालमा भाइरल भैरहेको हो। उक्त भिडियोमा उनी हातमा रक्सीको बोतल समातेकी एक युवतीलाई ‘ग्वाम्मै’ अँगालो मारेर नाचेको देख्न सकिन्छ।
त्यो डान्सपार्टी पालिकाकै एक सामुदायिक वन समितिको भवनभित्र हलमा भएको खुलेको छ। उक्त भिडियो भाइरल भएपछि विभिन्न व्यक्तिले उनीमाथि प्रश्न सोझाएका छन्। उनले आफ्नो संस्कृतिको जर्गेना गर्नुको साटो त्यसरी ‘पिउँदिन भन्दाभन्दै पिलायो साथीले’ भन्ने गीतमा युवतीसँग मस्ती गर्नुले बद्नाम हुने काम गरेको स्थानीय पंकज चौधरीको भनाई छ। ‘नाच्नु नै छ भने सखिया नाच नाच्नुस, हुर्दुंग्वा नाच नाच्नुस, देउडा नाच्नुस। थुप्रै नाच छ्न् जसले हाम्रो संस्कृतिलाई विश्वसामु चिनाएको छ। आउँदो दिनमा यस्ता खाले उच्छृंखल हर्कत गरेर आफ्नो बदनाम आफै नगर्नुहोला’ चौधरीले सामाजिक सञ्जालमा लेखेका छन्।

रैशम चौधरीले नेतृत्व गरेको नागरिक उन्मुक्ति पार्टीबाट चुनाव जितेर पालिका अध्यक्ष बनेका चित्रबहादुरको उक्त हर्कतले युवासामु नराम्रो सन्देश गएको समेत कतिपयले बताइरहेका छन्। उनको हर्कतले पदीय गरिमासमेत कायम नराखेको स्थानीले बताएका छन्। उता, अध्यक्ष चित्रबहादुर चौधरीले भने दसैंका बेलाको कार्यक्रमलाई विपक्षीहरुले गलत ढंगले प्रचार गरेको दाबी गरे। उनले दसैंको बेला साँझको समयमा रमाइलो गरिएको विषयलाई नकारात्मक बनाइएको अध्यक्ष चौधरीले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.