गौरीगंगामा महिलालाई ठक्कर दिएर भागेका चालक कारसहित पक्राउ

अत्तरिया, १४ कात्तिक : कैलालीमा दशैँका बेला महिलालाई ठक्कर दिएर भागेको कार प्रहरीले चालकसहित नियन्त्रणमा लिएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिका–६ को बनबेहडामा दशैँको भोलिपल्ट अज्ञात कारको ठक्करबाट घाइते गोदावरी नगरपालिका–९ की ६० वर्षीय मनादेवी रावतको मृत्यु भएको थियो । अज्ञात सवारी साधनको ठक्करबाट गम्भीर घाइते भएकी रावतको सोही दिन उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो । तर, ठक्कर दिएर भागेको गाडीको पहिचान हुन सकेको थिएन ।
इलाका प्रहरी कार्यालय मालाखेतीले पूर्वपश्चिम राजमार्गको चिसापानीदेखि महेन्द्रनगरसम्म जडान गरिएका सीसीटीभी क्यामेराको फुटेजका आधारमा ठक्कर दिने कार पत्ता लगाएर नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश बरालले सीसीटीभी फुटेजमा घटनाको समयमा उक्त क्षेत्रमा देखिएका कारको वनावट बनाएर अनुसन्धान गर्ने क्रममा महिलालाई ठक्कर दिने कार पत्ता लागेको जानकारी दिए ।
उनका अनुसार रूपन्देहीको तिलोतमा नगरपालिका– ११ महुबारी बस्ने ५० वर्षीय ज्ञानराज पाण्डेले चलाएको बा १५ च ८४७० नम्बरको कारले ठक्कर दिएको खुलेको हो । भारतको नैनीताल घुम्न गएका उनी महिलालाई ठक्कर दिएर भागेका थिए । घटनापछि कञ्चनपुरको सीमावर्ती बजार वनबासामा कार मर्मत गरेर बुटवल फर्किएको पाइएको प्रहरीले जनाएको छ ।
पाण्डेलाई बुटवल प्रहरीको सहयोगमा आइतबार पक्राउ गरिएको डीएसपी बरालले बताए । कारसहित नियन्त्रणमा लिइएका पाण्डेमाथि थप अनुसन्धान भइरहेको छ । डीएसपी बरालले राजमार्ग क्षेत्रमा जडान गरिएका सीसीटीभी क्यामेरा सवारी दुर्घटना तथा अन्य अपराधिक घटनाको अनुसन्धानमा सहयोगी बनेको बताए तर सीसीटीभी क्यामेराबाट सवारी साधनको नम्बर र मानिसको हुलिया स्पष्ट नदेखिदा केही समस्या हुने गरेको छ । स्थानीय तह, प्रदेश सरकार लगायतका सरोकारवाला पक्ष मिलेर राजमार्ग क्षेत्रमा स्तरीय सीसीटीभी क्यामेरा जडान गर्न अग्रसर हुनुपर्ने उनको भनाइ छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.