थप सुधारको प्रयासमा सेती प्रादेशिक अस्पताल

धनगढी, १७ कात्तिक : नेपाल सरकारबाट ५० र विकास समितिबाट ७५ गरेर सेती प्रादेशिक अस्पताल १२५ शय्याको स्वीकृत छ । तर, अस्पताल दुई सय ४५ शय्यामा सञ्चालनमा छ ।
प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा २० वटा मात्र शय्या छन् । अस्पतालको आकस्मिकसहित अन्य कक्षमा समेत शय्या पाउन समस्या छ । अस्पताल प्रशासन माथिल्लो तलामा २५ शय्याको निगरानी कक्ष स्थापना गर्ने तयारी छ ।
आकस्मिक कक्षका बिरामीका लागि अब ४५ वटा शय्या हुने भएका छन् । अस्पतालका निमित्त प्रमुख डाक्टर शेरबहादुर कमरले सेती अस्पतालको माथिल्लो तलमा अब्जरबेसन (निगरानी) कक्ष स्थापना गर्ने बताए । उनले भने, ‘अब्जरबेसनका लागि २५ बेड तयार भएका छन् । इमर्जेन्सीका बिरामीका लागि हो र उहाँहरूलाई सम्बन्धित चिकित्सकहरूले उपचार गर्नेछन् ।’
सेती अस्पतालको फार्मेसीमा समेत लाइन लाग्नुपर्ने बाध्यता छ । फार्मेसीमा सेवाग्राहीको चाँप कम गर्न कर्मचारी थप गर्ने योजनामा अस्पताल छ । तीनवटा काउन्टरबाट थप गरेर पाँच वटासम्म बनाउने तयारीमा अस्पताल प्रशासन छ । जेष्ठ नागरिक र अपाङ्गका लागि समेत छुट्टै औषधि खरिदका लागि काउन्टरको व्यवस्था गरिएको छ ।
कोरोना परीक्षणका लागि स्थापना गरिएको प्रयोगशाला भवनमा अस्पतालको पूर्ण प्रयोगशाला स्तान्तरणको तयारी थालिएको छ । साविकको स्वास्थ्य कार्यालयको भवनमा सेती अस्पतालको पूर्ण प्रयोगशाला हुने भएको छ । सुदूरपश्चिमको अस्थायी राजधानीमा रहेको सेती अस्पतालमा पार्किङको समेत समस्या छ । यसका लागि अस्पतालको आकस्मिक कक्ष अगाडीको पार्किङ क्षेत्रसमेत खाली गरिने भएको छ ।
रेडक्रस सोसाइटीको भवन रहेको क्षेत्रमा नयाँ प्राकिङ्गको व्यवस्था गर्ने तयारी अस्पतालको छ । अस्पताल विकास समितिका अध्यक्ष नरबहादुर (निर्मल) शाहले क्रमिक रूपमा अस्पतालका सेवा विस्तार गर्दै जाने बताए । उनले अस्पतालको ओपीडी सेवा बिहान ८ बजेदेखि सुरु गरिएको समेत बताए । सेतीको आकस्मिक कक्षमा २०, मेडिसिनमा ३६, आइसोलेसनमा चार, शल्यक्रियामा ४३, शल्यक्रियापछि बिरामी राख्न पाँच, बाल वार्डमा ३०, स्त्री तथा प्रसूतिमा ६०, प्रसूतिमा १५, सघन उपचार कक्षमा (आइसीयू) मा १५, एचडीयूमा चार, एनआईसीयूमा ९, एनआरएचमा १०, हेमो डाइलासिसमा १७, एक विशिष्ट कक्षमा एक शय्या र ६० कोरोना अस्पतालका शय्याहरू रहेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.