प्रधानमन्त्रीसहितको स्वास्थ्य टोली भूकम्प प्रभावित क्षेत्रमा जाँदै

काठमाण्डौँ : जाजरकोटमा शुक्रबार राती गएको भूकम्पमा परी घाइतेको उद्धार तथा उपचारका लागि प्रधानमन्त्रीसहितको स्वास्थ्य टोली त्यस क्षेत्रमा जाने भएको छ ।

त्यसका लागि औषधिसहितको स्वास्थ्य टोली र हेलिकोप्टर तयारी अवस्थामा रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

मौसमका कारण त्यस क्षेत्रमा जान केही ढिलाइ भएको छ, प्रधानमन्त्री जान तयारी अवस्थामा हुनुहुन्छ, आचार्यले भने। जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार चार पटक भूकम्प भएको छ । राति ११ः४७, १२ः०८, १२ः२९ र १२ः३५ गरी ४ पटकको क्रमशः ६.४, ४.८, ४.२ र ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

घाइतेको तत्काल खोज तथा उद्धारका लागि सुरक्षाका तीनवटै निकाय, स्थानीय पालिकाका प्रतिनिधि, स्थानीय युवाहरू लागेका छन् । सुर्खेतलगायत छिमेकी जिल्लाहरूबाट खोज उद्वारका लागि तिनवटै निकायका थप सुरक्षाकर्मीहरू पनि परिचालन गरिसकेको स्थिति छ। केही सडकहरू बन्द भएका छन्। सल्लाहकार आचार्यले भने ’’खोज, उद्वार तथा उपचार व्यवस्थाका लागि सम्माननीय प्रधानमन्त्रीज्यू सहितको स्वास्थ्यकर्मीको टिम अहिले स्थलगत जाँदैछ। बिहानैदेखि घाईतेहरूको खोज तथा उद्वार र उपचारका लागि मेडिकल टिमसहित सुर्खेतबाट कम्तीमा ३ हेलिकप्टर परिचालन हुनेछन्।’’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.