जोखिममा कर्णाली पुल !

टीकापुर : मर्मत सम्भारको अभावमा जीर्ण बन्दै गएको कर्णाली पुल पहिरोको समेत जोखिममा छ। पुलको उत्तर पूर्वतर्फ ठूलो पहिरो गएको छ। पुलदेखी नजिकैको पहाड भासिएको छ। विगत केही वर्ष यता सो पहाडमा स–सानो पहिरो जाने गरेको थियो। यस वर्षको वर्षायाममा भने पहाड नै भासिए पछि जोखिम बढेको हो। पुलबाट करिब एकरडेढ किलोमिटरको दूरीमा रहेको पहिरोले पुलको जमिनमुनिको भागलाई असर पार्न सक्ने देखिन्छ।

पुल नजिकैको पहाड भासिएको बारेमा संरक्षणको जिम्मेवारी रहेको सडक डिभिजन कार्यालय बाँकेले अनभिज्ञता जनाएको छ। कार्यालय प्रमुख निरजशाक्यले पहिरोको बारेमा कुनै जानकारी नभएको बताए। उनले कार्यालयको क्षेत्राधिकार भित्र पुलको मर्मत सम्भार मात्रै रहेको बताए।
पहाड भासिएको ठाउँ बर्दिया राष्ट्रिय निकुञ्ज भित्र पर्छ। निकुञ्ज भित्र पर्ने भएकाले अहिलेसम्म कसैले पनि पहिरोको स्थलगत अध्ययन गरेको पाइएको छैन। पहिरो गएको ठाउँमा जानका लागि निकुञ्जको अनुमति लिनुपर्ने बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत अशोक कुमार रामले जानकारी दिए।

उनले पहिरो गएको बारेमा निकुञ्जलाई जानकारी रहेको बताए। उनले पुल र पहिरोबिचको दूरी टाढा रहेकाले तत्काल खासै फरक नपार्ने बताए। पर्यटकीय हिसाबले समेत महत्त्वपूर्ण चिसापानीस्थितको पुल बेवारिसे अवस्थामा छ। सडक बोर्डले बजेट कटौती गरेपछि सडक डिभिजन कार्यालय बाँकेले पुलको सुरक्षार्थ खटिएका कर्मचारी र सुरक्षाकर्मी हटाएको थियो।

दिनहुँ सयौँको संख्यामा सर्वसाधारण पुल हेर्न आउँछन्। दशैंतिहार, नयाँ वर्ष लगायतका अवसरमा पुल हेर्न आउनेको संख्या हजारौँ पुग्छ। दिनहुँ सयौँको संख्यामा सवारी साधनओहोर दोहोर गर्छन्। पुलको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले सर्वसाधारणको पुलमाथिको ओहोर दोहोरलाई निगरानी गर्नुका साथै सवारी साधनको रेकर्ड समेत राख्थे। उनीहरुले सर्वसाधारणलाई पुलमाथि कुनै उच्छृङ्खल गतिविधि गर्न रोक लगाउँथे।

यो पुल२०४९ सालमा निर्माण भएको हो। निर्माण भए पश्चात् अहिलेसम्म पुल रंगरोगन र मर्मत सम्भार समेत हुन सकेको छैन। यो पुल जापानीज कम्पनी कावासाकीले निर्माण गरेको हो। एउटै पिल्लरमा ठड्याईएको पुलले तत्कालीन समयमा सुदूरपश्चिमलाई देशका बाँकी भूभागसँग जोडेको थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.