
अत्तरिया : कैलालीका गोदावरी नगरपालिका सहित तीन स्थानिय तहले कृत्रिम फूलमाला बिक्री गर्न रोक लगाएका छन् । तिहार नजिकिँदै गर्दा कैलालीको गोदावरी नगरपालिका, धनगढी उपमहानगरपालिका र बर्दगोरिया गाउँपालिकाले सार्वजनिक सूचना नै जारी गरी प्लास्टिकका कृत्रिम फूलमालाको बिक्री वितरणमा रोक लगाएको जनाएका हुन् ।
गोदावरी नगरपालिका क्षेत्रमा प्लाष्टिकजन्य सामग्रीहरुमा प्रतिबन्ध गरेको छ । तिहार तथा छठ पर्वमा यस गोदावरी नगरपालिका क्षेत्र भित्र प्लाष्टिकजन्य फुल माला तथा अन्य प्लाष्टिकजन्य सामग्रीहरुको उत्पादन, आयात विक्रि वितरण वा भण्डारण गर्न पूर्ण रुपमा प्रतिबन्ध गरिएको जानकारी सहित पालिकाले सूचना जारी गरेको हो ।
सुचनामा सम्पूर्ण उद्योगी, व्यापारी तथा आम नगरबासीहरुमा जानकारीका लागि हार्दिक अनुरोध सहित सबैलाई सम्बोधन गर्दै प्रतिबन्ध गरेको जानकारी गरेको छ । नगरपालिकाले अनुगमनका क्रममा यस गोदावरी नगरपालिका क्षेत्र भित्र प्लाष्टिकजन्य फुल माला तथा अन्य प्लाष्टिकजन्य सामग्रीहरुको उत्पादन, आयात, विक्रि वितरण तथा भण्डारण गरेको पाईएमा उक्त सामाग्रीहरु जफत गरी नियमानुसार कानून बमोजिम कारवाही गरिने व्यहोरा समेत सुचनामा उल्लेख गरेको छ ।
धनगढी उपमहानगरपालिकाले प्लास्टिक जन्य उत्पादन, आयात, भण्डारण, बिक्री र प्रयोगमा बन्देज लगाएको प्लास्टिकका फूलसमेत प्रतिबन्ध लगाएको उपमहानगरका सरसफाइ तथा फोहोरमैला व्यवस्थापन शाखाका प्रमुख अशोक अवस्थीले बताए । तिहार लक्षित गरी उपमहानगरपालिका आफैँले फूलखेती गर्नुका साथै २६ जना किसानलाई तालिम दिएर फूल उत्पादन गराएको बताए ।
केही किसानले धनगढीमा पहिलेदेखि नै फूलखेती गरिरहेका र यसपालि तिहारमा पूर्णरुपमा प्लास्टिकका फूल माला बिक्री र प्रयोग बन्द गरिने बताए। यदि प्लास्टिकको फूललगायतका कुनै पनि प्लास्टिकजन्य वस्तु आयात, भण्डारण, बिक्री र प्रयोग गरेको पाइएमा ‘धनगढी उपमहानगरपालिका प्लास्टिकजन्य वस्तु प्रतिबन्ध ऐन २०७९ अनुसार कारबाही हुने उनको भनाई छ । उपमहानगरपालिकाले यसै आर्थिक वर्षमा प्लास्टिकजन्य वस्तु बिक्री र प्रयोग गरेको भेटिएकोले जरिवानामार्फत १ लाख ७० हजार रुपैयाँ राजस्व असुल गरिएको जनाएको छ ।
अनुगमनको क्रममा कतिपय प्लास्टिकका फूलको व्यापार गरिरहेको भेटिएर जफत गरी जरिवाना गरिएको उपमहानगरका सरसफाइ तथा फोहोरमैला व्यवस्थापन शाखाका प्रमुख अवस्थीले बताए । धनगढीभित्र प्लास्टिकका कुनै किसिमको कारोबार गरेको पाइएमा नगर प्रहरी खटाएर जफत गरी जरिवाना तिराउने गरेको उनले बताए । यस्तै बर्दगोरिया गाउँपालिकाकाले पनी प्लास्टिकको फूलमालाले वातावरणमा समेत प्रतिकुल असर पार्ने भएकोले उत्पादन तथा प्रयोग नगर्न आग्रह गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत अर्जुनसिंह कार्कीले प्लास्टिक जन्य उत्पादन तथा प्रयोग नगर्न, नगराउन सूचना जारी गरिएको र कृत्रिम माला बिक्री वितरण गरेको पाइएमा कानुन बमोजिम कारबाही गर्ने उनले बताए । कैलाली जिल्ला भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०७६\०७७ को साउनदेखि कात्तिकसम्म ६४ हजार ४२० रुपैयाँको १०७ क्विन्टल प्लास्टिक फूल आएको भएको थियो । आर्थिक वर्ष २०७७\०७८ मा १४ गुणा बढी भारतबाट आयात भएकोमा तिहारसम्म छ लाख ६२ हजार १८३ रुपैयाँको एक हजार ५७५ क्विन्टल कृत्रिम माला भित्रिएको थियो । त्यसपछि नेपालमा ४० माइक्रो एमएम भन्दा कमको प्लास्टिक आयात बन्देज लागेको कैलाली जिल्ला भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले बताए । उद्योगहरूले प्रयोग गर्ने ¥यापरको रोल, प्लास्टिक फर्निचर र भाँडालगायत सामानबाहेक प्लास्टिक ब्यागलगायत ४० माइक्रो एमएम भन्दा कमका प्लास्टिक आयात वातावरणीय सुरक्षाका लागि प्रतिबन्धित र प्लास्टिकको फूल पनि ल्याउन बन्देज लगाइएको बताए ।प्लास्टिकका फूल आयात र बिक्रीमा प्रतिबन्ध लगाइएको भए पनि बजारमा भने चोरी पैठारी गरी त्यस्ता सामग्री बिक्री भइरहेकै छन् ।
धनगढी उपमहानगरपालिकाले नगरभित्रका २६ जना किसानलाई तालिम दिएर फूलखेती गराउनुका साथै आफैँले पनि ११ कट्ठा जमिनमा फूलखेती गरेको छ । ती किसानलाई पहिलो पटक फूल खेती तालिम र दोस्रो पटक फूलको बजारीकरण तालिम दिएको उपमहानगरपालिकाका कृषि शाखा प्रमुख लोकराज उपाध्यायले बताए । उनले यसपालि ती किसानले गरेको फूलखेतीबाट २० टन फूल उत्पादन हुने अनुमान गरिएको बताए । तिहारमा भारतबाट प्लास्टिकको फूलमालासँगै दियो, बत्ती, मैनबत्ती, झिलमिले बत्तीलगायतका सामानको आयात बढ्ने गरेको छ । धेरैजसो स्थानीयले आफ्नो घरबारीमा सयपत्री, मखमलीलगायतका फूल रोप्ने गरेको भए पनि पर्याप्त उत्पादन नहुँदा धनगढीसहितका सहर बजारमा भारतबाट कृत्रिम फूलामाला आयात हुने गरेको छ । पछिल्लो समय जिल्लामा फूल खेती हुने गरे पनि बजार माग अनुसार उत्पादन हुने गरेको छैन ।
